काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात गरिने कारमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो कदमले अमेरिकामा उत्पादन क्षेत्रलाई बढावा दिने दाबी गरेका छन्। यसले वार्षिक एक सय अर्ब डलर राजस्व बढाउने विश्वास लिइएको छ।
यो नीति अप्रिल १ देखि लागू हुनेछ। राष्ट्रपति ट्रम्पको घोषणासँगै अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सको सेयर बुधबार ३ प्रतिशतले घट्यो। साथै, जीप र क्रिसलरको मूल कम्पनी स्टेलान्टिसको शेयर पनि लगभग ३.६ प्रतिशतले घटेको छ।
ट्रम्पले अमेरिकामा नयाँ कारखाना सुरुवात हुने बताउँदै यस्तो निर्णय गरेका हुन्। क्यानडा र मेक्सिकोमा बनाइएका विभिन्न अटो पार्टपुर्जा र तयार सवारी साधन अब अमेरिकामा उत्पादन गर्न सकिने छ। ट्रम्पले आफ्नो निर्णय स्थायी भएको बताएका छन्।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कर लगाउने निर्णयको आलोचना गरेका छन्। उनले भने, 'यो हामीमाथि प्रत्यक्ष आक्रमण हो, हामी हाम्रा कामदार र कम्पनीको सुरक्षा गर्ने छौँ।'
बढ्न सक्छ अमेरिकामा कारको मूल्य
रिपोर्टका अनुसार अमेरिकामा नयाँ कारको औसत मूल्य लगभग ४९ हजार अमेरिकी डलर छ। यदि, नयाँ शुल्क लागू गरियो भने उनीहरूले आयातित कारको मूल्य १२ हजार ५०० ले बढाउन सक्छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार यो शुल्कले सवारी साधन निर्माताको लागत बढाउन सक्छ। जसका कारण बिक्रीमा गिरावट ल्याउन सक्छ। अमेरिकी कार कम्पनीले आफ्ना धेरैजसो अटो पार्टपुर्जा अन्य देशबाट आयात गर्दै आएको छ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि अमेरिकी निर्णयप्रति निराशा व्यक्त गरेकी छन्। उनले भनिन्, 'शुल्क व्यवसायका लागि नराम्रो छ र उपभोक्ताका लागि अझ नराम्रो छ।'
राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि भारतसहित सबै देशहरूमा 'टिट फर ट्याट ट्यारिफ' लगाउने छन्। ट्रम्पले यस महिना संसदमा आफ्नो भाषणमा भनेका थिए- भारतले हामीबाट १०० प्रतिशतभन्दा बढी ट्यारिफ लिन्छ। हामी पनि अर्को महिनाबाट त्यस्तै गर्ने छौँ। एजेन्सी