काठमाडाैं। अर्थतन्त्रका १८ क्षेत्रमध्ये सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको छ । जसको वृद्धिदर १४.२ प्रतिशत छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत सहित दोस्रो स्थानमा छ । विद्युत् तथा ग्यास ९.२ प्रतिशतले विस्तार भएको छ ।
निर्माणले यस त्रैमासमा छलाङ लिएको देखिएको छ । यो क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत छ । यसअघि यो क्षेत्र ऋणात्मक थियो । निर्माण सामग्री आयात तथा घरेलु उत्पादन वृद्धिले निर्माण क्षेत्रको वृद्धिदर बढेको अनुमान छ ।
औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आउँदा यो क्षेत्रले समेत गति लिएको देखिएको छ ।
उत्पादनमूलक क्षेत्रको ७.४ प्रतिशत, निक्षेप तथा कर्जामा भएको वृद्धिले वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत रहने अनुमान छ । व्यापारको ६.१ प्रतिशत र सूचना तथा प्रविधिमा ४.९ प्रतिशत वृद्धि हुने अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गरेको कृषि क्षेत्रको भने ३.२ प्रतिशत मात्र वृद्धिदर रहने भएको छ ।
यस्तै धान उत्पादन वृद्धि, तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यो क्षेत्र समेत धनात्मक रहेको कार्यालयको भनाइ छ ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको दोस्रो चौमासिकमा कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको वृद्धि र प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिले व्यापार क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।
औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आउँदा यो क्षेत्रले समेत गति लिएको देखिएको छ । दोस्रो त्रैमासमा सार्वजनिक प्रशासन तथा रक्षा २.२ प्रतिशत, स्वास्थ्यमा ३.१ प्रतिशत, घरजग्गा कारोबारमा ३.१ प्रतिशतको विस्तार देखिएको छ ।
उता, पहिलो र दोस्रो त्रैमासको तुलना गर्दा विद्युत् तथा ग्यासको वृद्धिदर सबैभन्दा बढी ४.८ प्रतिशतले खुम्चिएको छ । आवास तथा भोजन २.७ प्रतिशतले ऋणात्मक देखिन्छ । त्यसभन्दा बाहेक भने धनात्मक छन् । सबैभन्दा धेरै ६.४ प्रतिशतले यातायात तथा भण्डार क्षेत्र विस्तार भएको देखिएको छ ।
कुनै अर्थतन्त्रभित्र निश्चित समयावधिमा सञ्चालित आर्थिक क्रियाकलापबाट मूल्य अभिवृद्धि भई नयाँ उत्पादन भएका वस्तु तथा सेवाको स्थिर मूल्यमा अघिल्लो अवधिको तुलनामा भएको प्रतिशत परिवर्तन आर्थिक वृद्धि हो । अघिल्लो अवधिको तुलनामा राष्ट्रको स्थिर मूल्यको कुल गार्हस्थ उत्पादन (रियल जीडीपी) मा हुने परिवर्तन हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । जस अनुसार यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ ।
यो त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारभूत मूल्यमा गत आव २०८०/८१ को दोस्रो त्रैमासिकको तुलनामा चालु आवमा भएको विस्तारको अनुमान हो ।
कार्यालयका अनुसार यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले अर्थतन्त्रलाई धनात्मक बनाउन भूमिका खेलेको हो ।
यस त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक छन् । पहिलो त्रैमासमा निर्माण र औद्योगिक क्षेत्र ऋणात्मक रहेकोमा त्यसमा समेत सुधार देखिएको कार्यालयको तथ्यांक छ ।