काठमाडौं। प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बिहान ११ बजे बोलाइएको संसद् बैठकमा चार मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीमा राखिएको छ।
संसद् सचिवालयका अनुसार अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी सांसदले सोधेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिनेछन्।
आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन (२०८०/२०८१) पेस गर्ने कार्यसूची छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयको सूचनामा उल्लेख छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्।
कुलमान घिसिङ प्रकरणमा प्रतिपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने मागसहित बुधबार संसद् बैठक अवरुद्ध गरेकाले आजको बैठक नियमित हुने÷नहुने टुंगो छैन।
