कैलाली। कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व संकलन गरेको छ। कार्यालयले चालू आवको साउनदेखि फागुनसम्म उक्त राजस्व संकलन गरिएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख राजस्व संकलन गरिएको हो।
चालू आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशत मात्रै संकलन भएको उनले जानकारी दिए।
चालू आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व संकलन भएको छ।
यस्तै, मंसिरमा ८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फागुनमा ७२ करोड ७६ लाख राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए।
सूचना अधिकारी अर्यालले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए।
कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको थिएन। गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा सात अर्ब ९१ करोड ८० लाख मात्र संकलन भएको थियो,जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो।–रासस