काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ। प्रदेश च्याप्टरको बुधबार भैरहवामा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे।
सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले गतिशिल समय र तीव्र प्रतिस्पर्धाको दुनियामा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिए। सरकार सम्पूर्ण रुपमा उद्यमीको साथमा रहेको विश्वास दिलाए।
अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको दाबी गरे।
कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवालाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकामा जोड दिए। देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउनसमेत आग्रह गरे।
‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ। उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ। सरकारले आगामी बजेटमार्फत युवा प्रोत्साहन गर्ने नीति लिने विश्वास छ’, उनले भने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्त्वपूर्ण योगदान गरेको बताए। उनले सरकारले युवालाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको जानकारी दिए।
कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवालाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको उनको भनाइ छ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायन बढिरहेका बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर उद्यमी बन्ने युवालाई धन्यवाद दिइनुपर्ने धारणा व्यक्त गरे।
उनले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र उद्योगी व्यवसायीसमेत पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताको विषय रहेको औंल्याए। उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सकिने बताए। यसका लागि युवालाई प्रोत्साहन खाँचो रहेको उनको भनाइ छ।
उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताए।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन्।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सोहीअनुरुपका गतिविधि गर्दै आएको छ।