काठमाडौं। गभर्नर बन्ने दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. प्रकाश कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएका श्रेष्ठले आज (चैत १३ गते) राजीनामा दिएका हुन्।
गत साता बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन भएसँगै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस समिति सदस्य चयन गरेको थियो।
जसमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई चयन गरेको छ। सिफारिस समितिले राष्ट्र बैंकको एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम गभर्नरका लागि सिफारिस गर्नु पर्छ। डेपुटी गनर्भरबाहेक सिफारिसमा पर्ने व्यक्ति कुनै पनि जिम्मेवारीमा नभएको हुनुपर्ने प्रावधान छ। जसका कारण श्रेष्ठले आफू कार्यरत संस्थाको प्रमुख अर्थात् गभर्नर बन्नका लागि कार्यकारी निर्देशकको पद त्याग गरेका हुन्।
अर्थशास्त्रमा पिएचडी गरेका डा. श्रेष्ठ २०५४ सालमा राष्ट्र बैंकको जागिरे भएका हुन्। जागिर सुरु गरेको २२ वर्षपछि २०७६ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए। श्रेष्ठले सेवा अवधि सकिएर अवकाश पाउन तीन महिना मात्रै बाँकी रहँदा राष्ट्र बैंकको १८ औँ गभर्नर बन्न सेवाबाटै राजीनामा दिएका छन्।
डा. श्रेष्ठले लामो समय आर्थिक अनुसन्धान विभाग प्रमुख र लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख भएर काम गरेका छन्। उनी नेपाल धितोपत्र बोर्डको सञ्चालकसमेत रहिसकेका छन्।
यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा डा. श्रेष्ठ काजमा अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेका छन्। हालका डेपुटी गभर्नर नियुक्तिको समयमा अर्थमन्त्रीको सल्लाहकार रहेका डा. श्रेष्ठलाई पौडेलले उक्त समयमै डेपुटी बनाउन खोजेका थिए। तर, प्रधानमन्त्रीसँगको आशय नमिलेपछि उनी डेपुटी बन्न सकेनन्।
अहिले अर्थमन्त्रीमा उनै पौडेल रहेको अवस्थामा डा.श्रेष्ठले नेकपा एमालेका अधिकांश शीर्ष नेताहरूको सपोर्ट पाएका छन्। जस कारणले उनी १८ औँ गभर्नरमा आफ्नो नाम सिफारिस हुने पक्का भएकाले कार्यकारी निर्देशनको पद त्याग गरेका हुन्।