काठमाडौं। दोलखा जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा झण्डै ६ अर्ब ३३ करोड विगो दाबी गरी उजुरी दायर गरिएको छ। प्रहरी प्रतिवेदनका आधारमा सुन तस्करी र क्रिप्टो कारोबारलगायत विभिन्न मुद्दामा आरोपीहरूमाथि मुद्दा दायर भएको जिल्ला अदालतले जानकारी दिएको हो।
अवैध सुन तस्करी र क्रिप्टो कारोबारमा प्रहरीको जाहेरीअनुसार उनीहरूले ३१ करोड मूल्य बराबरको ३३ किलो सुन अवैध रुपमा नेपाल भित्र्याएर क्रिप्टोमार्फत भुक्तानी गरेकाे अदालतले जनाएको छ।
आरोपीहरूले सुन तस्करी गर्दा अमेरिकी डलरका साथै आखेटोपहार (कस्तुरीको विनासमेत) तस्करी गरेका थिए। साेही मुद्दामा अदालतले टाँसी भन्ने जेङ रोउ, टाँसी दावा भन्ने आकर लामा, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ(क) च्याङवा भन्ने चस्मान तामाङ, सदन प्रधान, महिमा माझी, लाल बहादुर तामाङ, सरोज भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो।
यस्तै, चेतनाथ न्यौपाने, सनद प्रधान, तिलक बि.क., दिपेन्द्र राज शाक्य, राज बहादुर श्रेष्ठ, केशर तामाङ, माधव कुमार मगर, अशोक मगर, ठुन्डु भन्ने थुन्दु शेर्पा, नर्बु तमाङ, साङा शेर्पा, पेम्बा तमाङ (ख), मिलन बि.क., पवन गुप्ता, मिलन नेवार भन्ने लेख राज नेवार, सुरेश भन्ने दुर्गा बहादुर खत्री, ललिता खत्री, सुनमाला तमाङ गरी कुल २६ जनाविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ (संशोधन सहित)को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग)ले निषेधित कार्य गरी गराई सोही दफा ३ को उपदफा (२) र (३) समेतको सम्पत्ति शुद्धीकरणको कसूर अपराध गरेको पुष्टी भई कारबाही माग दाबी गरिएको छ। यस्तै, उनीहरूमाथि बिगोसमेत माग गरिएको छ।