काठमाडौं। फिन्टेक काठमाडौं र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा पाँचदिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ।
नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रुपान्तरण गर्ने अभियानअन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा तालिम आयोजना गरिएको हो।
तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डेटा एनालिटिक्स र स्मार्ट बैंकिङजस्ता अत्याधुनिक प्रविधिको बैंकिङ क्षेत्रमा प्रयोगसम्बन्धी ज्ञान तथा सीप सहभागीलाई उपलब्ध गराइएको थियो।
सहभागीलाई भारतीय फिन्टेक क्षेत्रका अनुभवी विशेषज्ञ तथा गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापकले व्यावहारिक प्रशिक्षण दिएका थिए।
तालिममा मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ग्लोबल आईएमई, प्रभु, लक्ष्मी सनराइज, कृषि विकास बैंक र फोनपेका प्रतिनिधि सहभागी थिए।
काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाका अनुसार यस्ता क्षेत्रीय तथा विश्वस्तरीय तालिमले नेपाली बैंकिङ र फिन्टेक क्षेत्रलाई नवीनतम ज्ञान तथा सीप हासिल गर्न मद्दत गर्नेछ, जसले उनीहरू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछन्।
काठमाडौं फिन्टेक डिजिटल बैंकिङ तथा फिन्टेक ज्ञान दिने अभियानमा सक्रिय रहँदै नेपाललाई क्षेत्रीय तथा विश्व फिन्टेक तथा डिजिटल बैंकिङको नक्सामा स्थापित गर्ने लक्ष्यमा अघि बढेको छ।