काठमाडौं। नेपाल राष्ट्र बैंकबाटै इजाजत प्राप्त कम्पनीको नाममा अष्ट्रेलियामा हुण्डी कारोबार भएको पाइएको छ। विप्रेषण कारोबारका लागि इजाजतपत्र लिएको आधा दर्जन कम्पनीहरुको नाममा नक्कली कम्पनी खडा गरी गैरकानुनी कारोबार हुँदा नियामक ‘मुकदर्शक’ बनेको छ।
राष्ट्र बैंक विदेशी विनिमय विभागबाट इजाजत लिएर सक्रिय रुपमा हाल २४ वटा रेमिट्यान्स कम्पनीहरुले कारोबार गरिरहेका छन्। २३ वटाको विविद कारणले नियामकले इजाजत खारेज गरेको छ। राष्ट्र बैंकबाट एक पटक लाइसेन्स लिएर सञ्चालन भइरहेका वा बन्द भएका आधा दर्जनभन्दा बढी कम्पनीको नाममा अष्ट्रेलियामा नक्कली कम्पनी खडा गरी हुण्डी कारोबार भइरहेको पाइएको हो।
नेपालका रेमिट्यान्स कम्पनीहरुले विदेशबाट रेमिट्यान्सको कारोबार गर्नका लागि आधिकारिक रुपमा सम्बन्धित देशको अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीको एजेन्ट हुनुपर्छ, वा त्यहाँको नियामक निकायसँग इजाजत लिएर आफ्नो सहायक कम्पनी खोलेर काम गर्न सक्छ। यो दुवै कामका लागि राष्ट्र बैंकले स्वीकृति दिनु पर्छ।
अष्ट्रेलियामा कम्पनीले अन्य सहायक कम्पनी स्थापना गरेर थप अन्य व्यवसाय गर्न पाउँछन्।
अष्ट्रेलियामा भने रेमिट्यान्स सेवासम्बन्धी काम गर्नका लागि सरकारी ‘अष्ट्रेलियन बिजनेश रजिष्टर’मा कम्पनीको एबिएन नम्बर दर्ता गराएर त्यहाँको सम्बन्धित सुपरिवेक्षण निकायसँग स्वीकृत लिँदा हुन्छ। अष्ट्रेलियामा कम्पनीले अन्य सहायक कम्पनी स्थापना गरेर थप अन्य व्यवसाय गर्न पाउँछन्।
यही सुविधाको फाइदा उठाउँदै नेपालमा आधिकारिक रुपमा सञ्चालित कम्पनीहरुको नाम गरी अष्ट्रेलियामा कम्पनी खोलिएका छन्। एबिएन नम्बर ३४६३६९४२२६८ मा दर्ता भएको ‘एक्प्रेस सेवा प्रा.लि.’ले नेपालमा हुण्डी कारोबार गर्नका लागि २६ वटा कम्पनीहरु खडा गरेको छ। यसअघि क्यापिटल नेपालले गरेको रिपोर्टिङमा ‘शाह एण्ड ब्रदर्श’ले एबिएन नम्बर ९८६००२९२८०४ लिएर १३ वटा नक्कली कम्पनी खडा गरी काम गरेको पाइएको थियो। शाह एण्ड ब्रदर्शले आफ्नो मुख्य कम्पनी नमस्ते रेमिट्यान्स बन्द गरे पनि अन्य कम्पनीहरु एक्प्रेस सेवाअन्तर्गत राखेर हुण्डी गरिरहेको छ।
‘एक्प्रेस सेवा’ र ‘शाह एण्ड ब्रदर्श’ले हुण्डीको कारोबार गर्न खोलिएका नक्कली कम्पनीमध्ये अधिकांश राष्ट्र बैंकले इजाजत दिएको रेमिट्यान्स कम्पनीसँग मिल्दो जुल्दो बनाएका छन्। राष्ट्र बैंकबाट लाइसेन्स लिएकामध्ये नेपाल रेमिट, प्रभु रेमिट, युनाइटेड रेमिट, नमस्ते रेमिट, ठमेल रेमिट, नमस्ते रेमिट, कान्तिपुर रेमिट, माइपे रेमिट, रेमिट टु नेपाल, आइएमई रेमिटलगायतका कम्पनीको नाममा अष्ट्रेलियामा रेमिट्यान्स संकलन गरी नेपालमा अनौपचारिक माध्यमबाट भुक्तानी भइरहेको छ।
जसमध्ये नेपाल रेमिट’लाई विगत ४/५ वर्षयता प्राप्त नै नगरेको रेमिट्यान्सले दुःख दिइरहेको छ।
अष्ट्रेलियामा हुण्डी गर्ने कम्पनीले नेपालमा प्रापकलाई समयमै भुक्तानी नगर्दा नेपालका सम्बन्धित कम्पनीमा प्रापकहरु भुक्तानी माग्न जाने, प्रहरी प्रसाशन र नियामकसम्म पुग्ने गर्दा आधिकारिक रुपमा सञ्चालन भएका रेमिट्यान्स कम्पनीहरुले समस्या भोग्नु परेको छ।
जसमध्ये नेपाल रेमिट’लाई विगत ४/५ वर्षयता प्राप्त नै नगरेको रेमिट्यान्सले दुःख दिइरहेको छ। नेपाल राष्ट्र बैंकबाट विप्रेषण कारोबारका लागि इजाजत पत्र लिएको नेपाल रेमिटले आफ्नै नाममा अष्ट्रेलियामा स्थापित नक्कली रेमिट कम्पनीको कारणले समस्या भोग्नु परेको कम्पनीका कार्यकारी अध्यक्ष रितेश मित्तल बताउँछन्।
‘अष्ट्रेलियाको नेपाल रेमिटले हामीलाई विगत ५/६ वर्षयता सारै तनाव दिइरहेको छ,’ नेपाल रेमिटका मित्तलले क्यापिटल नेपालसँग भने, ‘हामीले अष्ट्रेलियाबाट २ वटा कम्पनीको मात्रै एजेन्टको काम गर्छौं त्यसमा एक्प्रेस सेवा होइन भने नेपाल रेमिट भनिएको कम्पनी हामी होइनौँ।’
नेपाल रेमिट भनेर खोज्दा वेव साइटमा भेटिएको नम्बर र ठेगानामा प्रापकहरुले फोन गर्ने, कार्यालयमै आउने तथा राष्ट्र बैंकलगायत अन्य निकायममा उजुरी दिने गर्दा कम्पनीलाई अनावश्यक समस्याको समाना गर्नु परेको छ।
‘अष्ट्रेलियाबाट मानिसहरुले हामी हो भनेर पैसा पठाउँछन् र समयमा पैसा नपाउने वा अन्य माध्यमबाट पैसा पाउने हुँदा दुःख पाउने हुँदा त्यसको जिम्मेवार हामीलाई बनाएर प्रहरी र राष्ट्र बैंकमा उजुरी गर्छन,’ उनले भने, ‘अष्ट्रेलियन नेपाल रेमिटको कारणले गर्दा हामी ४/५ पटक नै राष्ट्र बैंकमा स्पष्टिकरण दिन पुगिसकेका छौं। यो हामी होइन भनेर पटक/पटक नियामक र बेनिफिसरीलाई भन्नेदेखि केही गर्न सकेका छैनौं।’
अष्ट्रेलियाबाट आफन्तको नाममा नेपाल रेमिटबाट पठाएको पैसा लिन नेपाल रेमिटमा गए नपाइने उनको भनाइ छ।
राष्ट्र बैंकबाट इजाजत पाएको नेपाल रेमिटको अष्ट्रेलियामा उक्त नाम गरेको कुनै सहायक कम्पनी छैन भने रेमिट्ली र वल्ड रेमिटको आधिकारिक एजेन्टको रुपमा ‘नेपाल रेमिट’ले काम गरिरहेको छ। रेमिट्ली र वल्ड रेमिटमार्फत् नेपाल पठाइएको पैसामात्रै प्रापकले नेपाल रेमिटबाट पाउँछन्।
अष्ट्रेलियाबाट आफन्तको नाममा नेपाल रेमिटबाट पठाएको पैसा लिन नेपाल रेमिटमा गए नपाइने उनको भनाइ छ। यसले सर्वसाधारण जनताले दुःख पाउने, देश भित्रिने रेमिट्यान्स अनौपचारिक माध्यममा पुग्ने र राष्ट्र बैंकबाटै अनुमति लिएको संस्थाको प्रतिष्ठामा आँच आउने भइरहेको छ। राष्ट्र बैंकले आफ्नो नियमानमा भएको कम्पनीहरुको नाममा हुने गैरकानुनी कारोबाारको विषयमा छानबिन गर्न अन्य निकायसँग समन्यव गर्नु आवश्यक रहेको उनको भनाइ छ।
यता, नेपाल राष्ट्र बैंक भने आफूले इजाजत नदिएको अष्ट्रेलियाका नक्कली रेमिट कम्पनीालाई संस्थालाई नियमन तथा सुपरिवेक्षण गर्न नसक्ने बताउँछ। त्यस्ता नक्कली कम्पनीले गर्ने काम कारवाहीका कारण यहाँका कानुनी रुपमा सञ्चालन भएका संस्था प्रभावित भए वित्तीय जानकारी एकाईमा उजुरी दिनुपर्ने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्।
‘राष्ट्र बैंकले आफूले इजाजत दिएको संस्थाबाहेक अन्यको काम कारवाहीबारे हस्तक्षेप गर्न सक्दैन, यो हेर्ने निकाय अरु नै हुन्छन्,’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने, ‘फाइनान्सियल क्रामईसम्बन्धी होस् वा अन्य गैरकानुनी कारोबारसम्बन्धी उजुरी इजाजत प्राप्त संस्थाले सम्बन्धित नियमन विभाग वा सुपरिवेक्षण विभागमा नभएर वित्तीय जानकारी इकाईमा गर्नु पर्छ।’
वित्तीय जानकारी इकाईले यस्ता विषयहरु सम्बन्धित देशको वित्तीय जानकारी निकाय वा अन्य सम्बन्धित निकायसँग समन्यव गरेर छानबिन गरेर रोक्न सक्ने उनले जानकारी दिए।
अष्ट्रेलियाको हुण्डी रेमिट कम्पनीहरू
हुण्डी कारोबार गर्न अष्ट्रेलियन सरकारसँग सन् २०१९ अक्टोबर २१ मा ‘एक्प्रेस सेवा’ माउ कम्पनीको नाममा अष्ट्रिलियन बिजनेश रजिष्टर नम्बर (एबिएन) ३४६३६९४२२६८ लिएर विभिन्न रेमिट्यान्स कम्पनी खडा गरिएको छ। ‘एक्प्रेस सेवा’को साहयक कम्पनीको नाममा विभिन्न २६ वटा रेमिट कम्पनीहरु छन्।
जसमध्ये अधिकांश राष्ट्र बैंकले इजाजत दिएको रेमिट्यान्स कम्पनीसँग मिल्दो जुल्दो बनाइएको छ। एक्प्रेस सेवाको हुण्डी रेमिट कम्पनीहरुमा नेपाल रेमिटको नामबाट नेपाल रेमिट अष्ट्रेलिया, नेपाल रेमिट र रेमिट टु नेपाल गरी ३ वटा कम्पनी खडा गरिएका छन्।
यसबाहेक एस्प्रेस सेवाको म्याग्दी रेमिटी, इन्स्टा रेमिटी, प्रभु रेमिट, राजधानी मनि एक्प्रेस, यति रेमिट, केके अनलाइन रेमिट, एक्प्रेस रेमिट, पिपुल्स रेमिट, युनियन रेमिट, युनाइटेड रेमिट, जुम रेमिट, इन्स्ट्यान्ट रेमिट, अन्नपुर्ण रेमिट, डिबि रेमिट अष्ट्रेलिया, डाइनामिक रेमिट, पाथिभरा रेमिट, आसन रेमिट, बेस्ट रेमिट अष्ट्रेलिया, फास्ट क्यास रेमिट, मिराकल रेमिट, नेपाल रेमिट अष्ट्रेलिया, नेपाल सेवा, एनएमई अष्ट्रेलिया र स्पिडी रेमिट नामको कम्पनीबाट हुण्डी कारोबार भइरहेको छ।