काठमाडौं। नेपालले कृषि क्षेत्रबाट फाइदा लिन निजी क्षेत्रले आयात प्रतिस्थापनका साथै निर्यातजन्य कृषि उत्पादनमा जोड दिनुपर्ने जनाएको छ। कृषि क्षेत्रमा बजेट न्युन रहेको उल्लेख गर्दै आगामी बजेटमा कृषिलाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न ध्यानाकार्षण गराएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा स्वीस कन्ट्रयाक्ट-कासा कार्यक्रम तथा कृषि उद्यम केन्द्रले आयोजना गरेको कृषि क्षेत्रमा लगानी र निर्यात प्रवर्द्धनसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा विज्ञ तथा सरकोरावाले नेपालको भौगोलिक बनावट, हावापानीमा भएको विविधता, प्राकृतिक स्रोत साधन हेर्दा कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना रहे पनि त्यसबाट फाइदा लिन नसकिएको धारणा राखे।
लगानी तथा निर्यात प्रवद्र्धनका लागि तिनै तहका सरकारले नीतिगत सुधार, कृषिमा लगानी प्रवद्र्धन र निर्यात प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूको जोड थियो।
सम्मेलनको उट्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको दीर्घकालीन विकासका लागि सरकारले एकीकृत कृषि नीति ल्याउने तयारी गरिरहेको जानकारी दिए।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कृषि देशको अर्थतन्त्रको मेरुदण्ड रहे पनि बजेटमा सधैँ उपेक्षा गरिएको बताए। ‘हामीले देशलाई कृषि प्रधान भन्ने तर, बजेटमा कृषि क्षेत्रलाई सधै उपेक्षा गरिएको छ, यसलाई राज्यले प्राथमिकता राख्नु पर्दछ, अहिले सरकार बजेटको तयारीमा छ, आउने बजेटमा कृषिलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्दछु,’ उनले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले बनाउने नीतिमा निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नराख्न र कार्यान्वयन योग्य कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।