काठमाडौं। मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल सुरु भएको छ। तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्डविरूद्धको चुनौती गुमाएकी थिइन्।
रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी)बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो। योसँगै २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो।
लानले त्यस फैसलाविरुद्ध अपिल गरे पनि अदालतले सजाय घटाउने कुनै आधार नभएको बतायो। यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बताएको थियो।
अहिले उनले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहेकी छन्। उक्त मुद्दाको फैसलामा उनलाई तीन वटा अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो।
मंगलबार उच्च प्रोफाइल सुनुवाइमा अभ्यस्त लानले प्रहरी अधिकारीसँग कुराकानी गरिन्। हो ची मिन सिटीमा अदालत सुरु हुने पर्खाइमा अपेक्षाकृत सहज देखिएकी थिइन्।
प्रहरी अधिकारीको घेराबीच उनकी भतिजी पछाडि बसेकी थिइन्। भतिजीलाई अक्टोबरमा सम्पत्ति ठगीका लागि पाँच वर्षको जेल सजाय दिइएको थियो।
६८ वर्षीया लानलाई १७ अर्ब ७० करोड मनी लन्ड्रिङ र चार अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबारको दोषी ठहर गरिएको छ। उनीमाथि एक अर्ब २० करोड डलर ठगी गरेको अभियोग पनि लागेको थियो।
अन्य ३३ अभियुक्तलाई पनि हो ची मिन सहरको अदालतमा सजाय दिइएको थियो। उनीहरूलाई दुईदेखि २३ वर्षसम्मको जेल सजाय दिइएको थियो।