काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले समान प्रकृतिका दुई कम्पनीको जिम्मेवार पदमा एकै साथ जागिर खाएको पाइएको छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको साथ पाएका प्राधिकरणका अध्यक्ष बनेका भण्डारीले समान प्रकृतिका दुई कम्पनीको जिम्मेवार पदमा एकै साथ जागिर खाएको पाइएको हो।
प्राप्त जानकारीअनुसार भण्डारीले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेड (तत्कालीन स्पाइस नेपाल, मेरो मोबाइल)मा डेपुटी चिफ फाइनान्स अफिसरका रुपमा काम गर्दै गरेको समय नै अर्को अफ्रिकी महादेशमा रहेको विदेशी कम्पनी बुरुण्डीको राजधानी बुजुम्बुरामा मुख्यालय रहेको लासेल एसयूको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा नियुक्ति लिएको देखिएको छ।
सञ्चार मन्त्रालय स्रोतले उपलब्ध गराएको दस्तावेजअनुसार भण्डारीले स्पाइस नेपालमा सन् २००७ जुन १० तारिखदेखि २००८ जनवरी २० सम्म गरी करिब सात महिना जागिर खाएका थिए। यसको जानकारी एनसेल आजियाटाले सन् २०१७ जुन १ तारिखमा अध्यक्ष भण्डारीलाई दिएको अनुभव पत्रमा पाउन सकिन्छ।
यस्तै, भण्डारीले लासेल एसयू (टी/ए स्मार्ट)’ मा सन् २००८ जनवरी १ तारिखबाट सन् २०१६ जनवरी ११ तारिखसम्म सीईओको भूमिकामा काम गरेका थिए, जसको जानकारी बुरुण्डीको लासेलले सन् २०१६ को सेप्टेम्बर १४ मा दिएको राजीनामा स्वीकृत पत्रमा पाउन सकिन्छ।
एकै प्रकृतिको जिम्मेवार भूमिकामा काम गरेका भण्डारी हाल नेपाली दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा छन्।
यसरी, स्पाइस नेपाल र लासेलका आधिकारिक पत्रहरु तुलना गर्दा अध्यक्ष भण्डारीले २००८ को जनवरी १ तारिखमै बुरुण्डीमा लासेलको कार्यकारी अधिकारयुक्त पदमा नियुक्ति लिएको देखिन्छ। जबकि, त्यतिबेला उनी स्पाइस नेपालमै ‘बहालवाला’मै कार्यरत रहेको देखिन्छ।
प्राप्त दस्तावेजबाट भण्डारीले सन् २००८ को जनवरी १ देखि जनवरी १९ सम्मको १९ दिन दुई कम्पनीमा काम गरेको देखिन्छ। उनले स्पाइस नेपालमा डेपुटी चिफ फाइनान्स अफिसर र लासेल एसयू बुरुण्डीमा सीईओका रुपमा सँगै काम गरेको स्रोतको दाबी छ।
लासेल बुरुण्डीमा रहेको वायरलेस टेलिफोन अपरेटर हो। जसको व्यापारिक नाम परिवर्तन भएर हाल ‘स्मार्ट टेलिकम’ बुरुण्डी बनेको छ। यो संस्था सन् २०२२ मा सरकारी बाँकी बक्यौता तिर्न नसकेका कारण बन्द भएको थियो। यसरी, एकै प्रकृतिको जिम्मेवार भूमिकामा काम गरेका भण्डारी हाल नेपाली दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा छन्।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया पुर्याएको देखाए पनि योजनाबद्ध रूपमा भण्डारीलाई नियुक्त गरेको थियो।
भण्डारी तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आडमा अध्यक्ष बनेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८० माघ १४ गते अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो। त्यसमा २५ जनाले आवेदन दिएका थिए।
तर, सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माका सूचना प्रविधि सल्लाहकारसमेत रहेका भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको थियो। २०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको हो। प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया पुर्याएको देखाए पनि योजनाबद्ध रूपमा भण्डारीलाई नियुक्त गरेको थियो।
तत्कालीन प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले ६ महिना कार्यकाल बाँकी रहँदै पुस २४ गते अध्यक्षबाट राजीनामा दिएका थिए। मन्त्री शर्मासँगको टकरावबाट खनालले राजीनामा दिएसँगै अध्यक्षको जिम्मेवारी भण्डारीले पाएका थिए।
यस विषयमा भण्डारीसँग बुझ्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
-1742903147.jpg)
-1742903148.jpg)