काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट कुलमान घिसिङ बाहिरिएसँगै जलविद्युत् समूहमा उच्च गिरावट आएको छ।
सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती दिएको थियो।
सरकारको उक्त निर्णयसँगै जलविद्युत् समूहमा उच्च गिरावट आएको हो। आज जलविद्युत् समूहका ८९ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मात्रै बढेको छ।
मंगलबार जविद्युत् समूहको सेयर मूल्यमा ३.०८ प्रतिशतको गिरावट आउँदा बैंकिङ समूहको सेयर मूल्य १.४० प्रतिशत, विकास बैंकको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत र होटल तथा पर्यटन समूहको २.८३ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.९८ प्रतिशत, जीवन बिमा समूहको २.२४ प्रतिशत, उत्पादन समूहको १.४९ प्रतिशत, लघुवित्त समूहको २.३० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.३८ प्रतिशतले घटेको छ।
आज घिसिङलाई हटाएर सरकार थप आलोचित बनेको छ भने उक्त निर्णयको चर्को आलोचना भइरहेको छ। मंगलबार मात्रै घिसिङलाई पदबाट हटाएको विरोधमा धेरै ठाउँमा प्रदर्शन भएका छन्।
आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २५८४.८८ विन्दुमा सीमित भएको छ।
