काठमाडौं। सरकारको पछिल्लो कदमले सेयर बजार झनै निरासामा धकेलिएको छ। अघिल्लो कारोबार दिन सोमबार बढेर सकारात्मकताको संकेत गरेको बजार मंगलबार भने थप त्रसित देखिएको हो।
साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २५८४.८८ विन्दुमा सीमित भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा रोकिएको थियो।
सोमबार दोहोरो अंकले बढे पनि आइतबार भने नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा रोकिएको थियो। त्यसअघि, गत साताको पाँच कारोबार दिनमा पाँचै दिन घटेको नेप्से ६७ अंकले संकुचित भएको थियो। अघिल्लो साता पनि नेप्सेमा ८२ अंकको गिरावट आएको थियो।
खासगरी, सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती दिएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मात्रै बढेको छ।
आज नेप्सेमा कुल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य १.४० प्रतिशत, विकास बैंकको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८३ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.०८ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.९८ प्रतिशत, जीवन बिमा समूहको २.२४ प्रतिशत, उत्पादन समूहको १.४९ प्रतिशत, लघुवित्त समूहको २.३० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.३८ प्रतिशतले घटेको छ।
