काठमाडौं। लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनःउत्पादन सुरु गर्ने भएको छ। उद्योगका मेसिनको मर्मत सम्भार सकिएको र कर्मचारी काम गर्न सहमत भएपछि चैतको तेस्रो सातादेखि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए।
“उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो”, निमित्त महाप्रबन्धक कर्णले भने, “स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नपुर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौँ।”
यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ। उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ।
उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए। “उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ”, उनले भने, “प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला।”
उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।