काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका ढुंगानाले चैत १२ गते बैंक सञ्चालकसमक्ष राजीनामा बुझाएका हुन्।
‘‘उहाँले आज बिहान राजीनामा दिनुभएको हो। बोर्डले पास गरेको छैन। तर, घर बिदामा भने गत सातादेखि नै हुनुहुन्थ्यो,’ नबिल बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।
नबिलले तत्कालीन नेपाल बंगलादेश बैंकलाई गाभेर त्यहाँका सीईओ ढुंगानालाई २०७९ असारमा सीईओ नियुक्त गरेको थियो। बैंकको सीईओको एक कार्यकाल ४ वर्षको हुन्छ। तर, उक्त समय बैंकले ढुंगानालाई २ वर्ष कार्यावधि थपेर पुनः जिम्मेवारी सुम्पिएको थियो। बैंक सञ्चालक समितिले ढुंगाानालाई बाँकी २ वर्षको लागि सीईओको जिम्मेवारी गत जेठमा सुम्पिएको थियो।
तर, ढुंगानाले राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा कार्यकाल समाप्त हुनु एक वर्षअघि नै पदबाट राजीनामा दिएका हुन्।
गत साताको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समित गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि ढुंगाना बैंकबाट घर बिदा लिएर बसेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति सदस्यमा पुर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई चयन गरेपछि मंगलाबार ढुंगानाले बैंकको सीईओबाट राजीनामा दिएका हुन्।
सिफारिस समितिले राष्ट्र बैंकको एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम गभर्नरका लागि सिफारिस गर्नुपर्छ।
घर बिदा बसेर राजनीतिक लबिङमा रहेका ढुंगानाले आफ्नो नाम ३ जनामा सिफारिस हुने निश्चित भएपछि सीईओबाट राजीनामा दिएका हुन्। कांग्रसीपृष्ठभूमिका ढुंगाना एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला तेह्रथुमका स्थायी बासिन्दा हुन्।
उनलाई गभर्नर बन्न सहयोग गर्न कांग्रेस र एमालेका राजनीतिक व्यक्ति एवं ठूला व्यावसायिक घरानाले सहयोग गर्ने देखिन्छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति तथा उद्योगी विनोद चौधरीको मुख्य लगानी रहेको बैंकको सीईओका कारण पनि ढुंगानालाई गभर्नरको दौडमा सहयोग पुगेको छ। ढुंगाना राष्ट्र बैंकको पूर्वकर्मचारीसमेत हुन्।