काठमाडौं। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचेर मासिक ४० हजार रूपैयाँ आम्दानी गर्दै आएकी छन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बनाउन सक्ने उदाहरण बनेकी छन्।
भण्डारी बिहानैदेखि तरकारी बारीमा भेटिन्छन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका फेरि करेसाबारीमा खट्ने उनको दैनिकी हो। सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सकिने धारणा राखिन्।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषि उपजको खेती गरेको बताइन्। ‘अहिले हरियो मकै खाने बेला भएको छ, विभिन्न तरकारी पनि छन्। आफ्नो ६ कट्ठा मात्र जमिन छ, बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ,’ उनले भनिन्। बारीमा धेरैजसो लौका हुने उनको भनाइ छ। गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। सुरुमा प्रतिलौका १७० रूपैयाँमा बिक्री भएको र अहिले ५० रूपैयाँमा बिक्री हुने उनले बताइन्।
उनले उत्पादित कृषि उपज झापाको दमकमा लगेर बेच्छिन्। करिब ७ किलोमिटर टाढा यो बजारमा उनी दैनिकजसो जान्छिन्। भण्डारीले लौकाबाट मासिक ४० हजारभन्दा बढी आम्दानी हुने बताइन्। ‘लौका बेचेर छोरा–बुहारीलाई जापान पठाएँ। दैनिक घरव्यवहार चलाउन समस्या छैन,’ उनले भनिन्। छोरा–बुहारीलाई जापान पठाउन लिएको १५ लाख रूपैयाँ ऋण तिरिसक्न लागेको उनले उल्लेख गरिन्।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको उनले बताइन्। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्छिन्। आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि बजारमा लगेर बेच्ने गरेको उनको भनाइ छ। ‘दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन्। कर्मले दहीवाली दिदीसमेत बनाएको छ। यो नामले बोलाउँदा झन् खुसी लाग्छ,’ भण्डारीले भनिन्।
उनका श्रीमान् भूतपूर्व प्रहरी हुन्। श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको उनले बताइन्। ‘बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन। डुलाएर बेच्दा भने मूल्य महँगो पर्छ,’ उनले भनिन्। भण्डारीले १७ वर्षदेखि यो पेसालाई निरन्तरता दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन्। हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन्।
दीपज्योति कृषि फार्म सञ्चालन गर्ने भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन्। कृषिमा अर्गानिक उत्पादनमा जोड दिँदै उनले घरका गाई र बाख्राको मल प्रयोग गर्छिन्। उनले १० जनालाई रोजगारी दिएको बताइन्। कतिपयलाई घण्टाको आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ। प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने गरेको उनले बताइन्।
एउटै लौकाको ५ देखि ७ हजार
भण्डारीले एउटै लौकाबाट ५ देखि ७ हजार रूपैयाँसम्म आम्दानी गरेको बताइन्। लौका तरकारीका रूपमा बेच्दा २०० रूपैयाँसम्म पर्ने भए पनि बीउबाट बढी फाइदा लिन सकिने उनको भनाइ छ। ५० रूपैयाँको तीन वटा बीउ घरबाटै बिक्री हुने उनले जानकारी दिइन्।
‘ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ। यसको बजारीकरणमा समस्या छैन। ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ। सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्छ। लौकाको बीउसँगै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ,’ भण्डारीले भनिन्।