काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल मनी विक २०२५ अवसरमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ। बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरेको हो।
कार्यक्रममा ६ हजार बढी विद्यार्थी तथा युवायुवती सहभागी रहेको बैंकले जनाएको छ। राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेको कार्यक्रममा समेत बैंकका कर्मचारी वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका थिए।
बैंकले ३५५ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा सहभागीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।
हाल बैंकले ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्श्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।