काठमाडौं। नेपाल बिमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बिमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए)को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा ललितपुरमा नेपालको बिमा क्षेत्रमा बिमाङ्कीय विज्ञताको विकाससम्बन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेपालमा बिमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझाव प्राप्त गर्ने उद्देश्यले नेपाल बिमा प्राधिकरण, आईएफओए, ग्लोबल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बिमाङ्कीय विश्लेषकबीच अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमाङ्कीको भूमिका विशेषगरी बिमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताए।
अध्यक्ष ओझाले बिमाङ्कीको विज्ञता उजागर गर्न, बिमा व्यवसायलाई थप गति दिन र बिमित ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले कार्यक्रममा आउने नयाँ दृष्टिकोण र विचारहरू बिमाङ्कीय पेशालाई नयाँ उचाई दिन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।
बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारीरूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बिमाङ्कीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यकारी निर्देशक सुवेदीले नेपालमा बिमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय सुरपरीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवर्द्धन गर्दै आएको जानकारी दिए।
आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बिमाङ्कीय विज्ञताको विकासका लागि नियाकका रूपमा बिमा प्राधिकरणबाट भएको प्रयास सह्रासहनीय रहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गरे।
ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन)का निर्देशक क्विनी चोउले बिमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफू उत्साहित रहेको बताउँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघन रूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।