काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन्। आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवास) नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्न सक्ने बताए। उनले भने, “महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन्। तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ।”
उनले महिला सशक्तीकरण बिना खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने समेत उल्लेख गरे। उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम र आर्थिक सहयोग उपलब्ध गराइने बताए।
उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने बताए। जल स्रोतको दिगो व्यवस्थापनका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले पानीको दुरुपयोग रोक्न, स्रोत संरक्षण गर्न, तथा सरसफाइको सही अभ्यास अपनाउन उपभोक्तालाई आग्रह गरे।