काठमाडौं। फागुनमा देशभर चार हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका १ हजार १२७ (२५.२२ प्रतिशत) रहेका छन्।
काठमाडाैं उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन्। पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए।
बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन्। त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन्।
आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागूऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन्।
काठमाडौं उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएको प्रवक्ता आचार्यले बताए। मधेस प्रदेशमा सात सय १५, कोसीमा ६ सय ६५, लुम्बिनीमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदूरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णालीमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका छन्।