काठमाडौं। गत असारयता प्रधानमन्त्रीको कुर्सी गुमेर सत्ता समीकरण फेरिएपछि प्रतिपक्षी बेन्चमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारप्रति नरम छैनन्। साताअघिको संसद् बैठक सम्बोधन होस् वा माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान। जताततै कांग्रेस–एमाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धारे हात लगाइरहेका छन्।
असारमा प्रधानमन्त्रीबाट हटेपछि कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच खासै कुराकानी भएको छैन। आफूलाई प्रधानमन्त्रीबाट हुत्याइएको रिस दाहालले कांग्रेस, एमालेमाथि पोखिरहेका छन्।
यस्तो बेला प्रतिनिधिसभामा मुख्य प्रतिपक्षी नेता दाहाल, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज सिंहदबारमा भेटिने सहमति भएको छ।
पछिल्लो समय पानी प्रधानमन्त्रीले हरेक पटक भेट्न बोलाउँदा पनि दाहालले विभिन्न अड्को र निहुँ थापेर पन्छाइरहेका बेला तीन शीर्ष नेताबीच हुने सिंहदबार भेटले अविश्वासको आइसब्रेक गर्ने अनुमान राजनीति वृत्तमा हुन थालेको छ। सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता हुन लागेको हो।
वार्तामा पछिल्लो समय राजावादीवादीका नाममा भएको लोकतन्त्रविरोधी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायत छलफल हुने बताइएको छ।
साता दिनअघिदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी लिङ्देन समूहको नाममा पूर्वराजा ज्ञानेन्द्रलाई गद्दी सुम्पिन माग गर्दै नेपालका विभिन्न स्थानमा जुलुस निकालिँदै आएको छ। यस्ता जुलुसमा प्रजातन्त्र, राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध विष वमन भइरहेको छ।
अझ राजावादीहरुले पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा आन्दोलनै घोषणा गरेर लोकतन्त्रविरुद्ध हुँकार दिइरहेका छन्।
यस्तो बेला आज तीन शीर्ष नेताबीच हुने वार्तामा राजावादी आन्दोलनका उठान, पहिचान र लोकतन्त्रविरोधी हर्कतलाई कसरी प्रतिरोध गर्ने भन्ने विषयमा पनि छलफल हुने नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताए।
यद्यपि, राजावादीको आन्दोलनलाई प्रतिरोध गर्न एमालेले गाउँदेखि सहरसम्म जनपरिचालन, नेकपा एसले आन्दोलन घोषणा र नेकपा माओवादीले काठमाडौं केन्द्रित जनसभा गर्ने निर्णय गरिसकेका छन्।
राजावादीहरुले पनि राजा फर्काउनुपर्ने मागसहित आन्दोलनमा छन्। आजको शीर्ष नेताबीच हुने वार्तामा लोकतन्त्रका लागि सबै दल एक ठाउँ हुनुपर्ने विषय अगाडि सारिनेछ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति विषयमा छलफल हुनेछ। यद्यपि अहिलेसम्म सिफारिस समिति (सर्च कमिटी)समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउने प्रयास तीन दलका शीर्ष नेताको बैठकले गर्नेछ।
तीन शीर्ष नेताबीच अपराह्न ४ बजे भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए। ‘दिउँसो ४ बजे शीर्ष तीन नेता मात्रै छलफलका लागि बस्ने तय भएको छ’, उनले भने। टिआरसी विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल दाहाल निवास खुमलटार पुगेका थिए।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो। शीर्ष तीन नेताबीच चैत ६ गते बैठक गर्ने तयारी भए पनि अध्यक्ष दाहाल तराई–मधेस जागरण अभियानका लागि काठमाडौं बाहिर हिँडेसँगै रोकिएको थियो।
प्रतिनिधिसभाको चैत ६ को प्रधानमन्त्री प्रश्नोत्तर बैठकमा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।
यस विषयमा दाहालसँग पटक–पटक सम्पर्क प्रयास गर्दा पनि स्वास्थ्यमा केही समस्या भएकाले सम्पर्क गर्न नसक्नुभएको’ भन्ने जवाफ पाएको जानकारी प्रधानमन्त्रीले दिएका थिए।