काठमाडौं। प्रविधिको प्रयोगबाट परिचालित लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने योजना घोषणा गरेको छ।
उपायको नयाँ ३पीएल वेयरहाउस काभ्रेको बनेपा नगरपालिका–१३ स्थित करिब १८ रोपनी (लगभग १ लाख वर्गफुट) कम्पनीको जग्गामा हुनेछ।
नेपालको लजिस्टिक्स क्षेत्रमा प्रविधि र पूर्वाधारको कमीलाई महसुस गर्दै उपायले आफ्नो पहिलो ३पीएल वेयरहाउस निर्माण गर्न लागेको हो। वेयरहाउस निर्माण सन् २०२५ अप्रिलबाट सुरु भएर २०२६ अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ।
उपायले निर्माण गर्न लागेको यो ३पीएल वेयरहाउस परियोजनाको अनुमानित लागत १.२ अर्ब नेपाली रुपैयाँ (१२० करोड रुपैयाँ) रहेको छ। कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापनको फाइनान्सियल क्लोजर सम्पन्न भएको जनाएको छ।
वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ तथा अन्य लगानीकर्ताले पुँजी लगानी गर्ने जानकारी कार्यक्रममार्फत दिइएको थियो।
कार्यक्रममा कन्सोर्टियम ऋण अगुवा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी गणेशराज पोखरेलले नेपालमा वेयरहाउस इन्फ्रास्ट्रकचरको अपार सम्भावना रहेको र परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधार बन्ने हुँदा बैंकले लगानी गरेको बताए।
उपायको थ्रीपीएल वेयरहाउसले भण्डारण, मौज्दात व्यवस्थापन, बिलिङ, वितरण र ढुवानी सेवाहरूलाई एउटै प्लेटफर्ममा समेटेर व्यवसायलाई स्केलेबल समाधान प्रदान गर्ने कम्पनीका सह–संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए।
उनले भने, ‘थ्रीपीएल वेयरहाउसले ग्राहकलाई भण्डारण तथा इन्भेन्टरी व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गरी आफ्नै मुख्य व्यवसायमा व्यवसायलाई विस्तार गर्न सहज बनाउनेछ।’
कार्यक्रममा उपायका सह–संस्थापक तथा निर्देशक रञ्जीव श्रेष्ठले आवश्यक पूर्वाधारको अपर्याप्तता तथा उचित व्यवस्थापन कमी भए पनि नेपालमा लजिस्टिको लागत अर्थतन्त्रको करिब २० प्रतिशत रहेको बताए। उपाय हाउजिङ प्रविधिको माध्यमद्वारा सक्षम पूर्वाधार कम्पनीका रूपमा अघि बढ्ने उनको भनाइ छ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले हाल बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम प्रशस्त भए पनि लगानीयोग्य परियोजना सीमित रहेका कारण चुनौती रहेको उल्लेख गर्दै यस्ता नवीनतम अवधारणाले समग्र राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका ग्राहक जस्तै फास्ट मुभिङ कन्जुुमर गुड्स फास्ट मुभिङ कन्ज्युमर ड्युरेबल्स, ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा, जुत्ता, सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पाट्र्सको ईन्भेन्टरी व्यवस्थापनको कार्य गर्नेछ।
प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५,००० वर्गफुट हुनेछ र कुल भण्डारण क्षमता १ लाख वर्गफुटभन्दा बढी रहने कम्पनीले जनाएको छ।
कार्यक्रममा उपायको प्रमुख लगानीकर्ता– डोल्मा इम्प्याक्ट फन्ड, भारतको अग्रणी औद्योगिक तथा लजिस्टिक कम्पनी–प्रगति इन्फ्रा सोलुसन्सका कार्यकारीहरू, भारत र नेपालका लजिस्टिक विशेषज्ञ, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता तथा उपायका सम्भावित ग्राहक उपस्थित थिए।