म्याग्दी। गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान गरी उनीहरुको क्षमता विकास, यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि कार्यक्रम सञ्चालन भएको हो।
दायित्व संस्थाका कार्यक्रम अधिकृत जुनतारा रानाले पर्वतको जलजलासँगै नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र तनहुँको म्याग्दे गाउँपालिकामा यो कार्यक्रम लागू भएको जानकारी दिए।
‘कार्यक्रमका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई ४० लाख पठाएको र सम्बन्धित पालिकाले २० लाखका दरले बजेट विनियोजन गरेका छन्’, उनले भने, ‘कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको कुल लागतमा ५० प्रतिशत साझेदारी गर्छौं।’
हरेक स्थानीय तहमा ४० जना उद्यमीलाई न्यूनतम २५ हजारदेखि एक लाख ५० हजारसम्म उद्यममा साझेदारी गरिने कार्यक्रम अधिकृत रानाले बताए। पहिलो चरणमा कार्यक्रममा आबद्ध हुन इच्छुक उद्यमीबाट आवेदन संकलन गर्न थालिएको छ।
तोकिएको मापदण्डअनुसार पहिलो चरणमा ४० जना उद्यमी चयन गर्ने, २० जनालाई २५ हजारसम्म उद्यम विकास प्रविधि पूरक साझेदारी, १० जनालाई एक लाखसम्म नवप्रवद्र्धन पुरक साझेदारी, तेस्रो चरणमा नौ जनालाई रु ८० हजार र एक जनालाई एक लाख ५० हजार बिक्री तथा बजारीकरण प्रविधि पुरक साझेदारी गरिने जलजला गाउँपालिकाको उद्यम अधिकृत भगवती पुनले जानकारी दिइन्।–रासस