काठमाडौं। सरकारले अध्यादेशमार्फत विभिन्न कानुनहरु संशोधन गरेपछि उत्साहित बनेका उद्योगीहरु नेपाल विद्युत प्राधिकरणले पछिल्लो केही दिनदेखि दैनिक १४ घण्टासम्म लोडसेडिङ गरेपछि पुनः निराश हुन थालेका छन्। बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै चलायमान भइरहेको उद्योगमा एक्कासी प्राधिकरणले दैनिक १४ घण्टासम्म लोडसेडिङ गरेपछि पुनः निराशीन थालेका हुन्।
'अहिलेको सिजन औद्योगिक क्षेत्र चलायमान हुने बेला हो,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, 'यही बेला प्राधिकरणले लोडसेडिङ गरिदिएको छ, अब मागअनुसार उत्पादन कसरी गर्ने र कसरी बजारमा पठाउने?'
उद्योग क्षेत्र चलामायन हुन लाग्दा प्राधिकरणले भारतबाट बिजुली नदिएको बाहनामा उद्योगीहरुलाई दुस्मनीको रुपमा हेरेकाले लोडसेडिङ गरेको उनले दाबी गरे। नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले प्राधिकरणले सिजनको बेलामा देशैभर गरिएको विद्युत आपूर्ति कटौती गरेपछि परेको असरको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वअध्यक्ष मुरारकाले प्राधिकरणबाट उत्पादन हुन कुल उत्पादनको ३५ प्रतिशत विद्युत खपत गर्ने उद्योगलाई बेवास्था गरेको भन्दै असन्तुष्टी व्यक्त गरे।
‘२४ घण्टा चल्ने उद्योगलाई चल्दैन भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटो प्रचार गर्नुभएको छ,’ पूर्वअध्यक्ष मुरारकाले भने, ‘अहिले हेर्न हिड्नुस्, हाम्रो उद्योग कति घण्टा चलेको छ?’

बर्खायाममा उद्योगको माग नै खुम्चिने गरेकाले २४ घण्टा उद्योग नचल्ने गरेको बताउँदै प्राधिकरणलाई असार साउनमा जलविद्युत आयोजनाको काम गरे आफूहरु पनि उद्योग चलाउन तयार रहेको जवाफ कुलमानलाई उद्योगीले दिएका छन्।
उद्योग सञ्चालन हुँदा २४ घण्टा नै हुने र नहुँदा बन्द गरेर राख्ने गरिएको बताउँदै रोजगारीसँगै करोडौँ रुपैयाँ राजश्व बुझाउने उद्योगमा प्राधिकरणको कुदृष्टिले उद्योगीहरु निरास मात्र हैन पलायन हुने स्थिति आउन थालेको स्टील उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेको भनाइ छ।
‘१४ घण्टापछि पाउने बिजुली पनि गुणस्तरीय हुँदैन,’ अध्यक्ष न्यौपानेले भने, ‘बेला बेलामा झ्याप्प झ्याप्प बिजुली जान्छ, जसले उत्पादन भएका सबै वस्तु बिगारिदिन्छ।’
नेपाल धागो उत्पादक संघको तर्फबाट बोल्दै उद्योगी शशीकान्त अग्रवालले औद्योगिक वातावरण बिग्रिरहेको बेला प्राधिकरणले १४ घण्टासम्म लोडसेडिङ गराएर उद्योगी व्यवसायीलाई निरुत्साहित गरिरहेको बताउँदै यसमा सरकारले गम्भिर भएर हेर्नुपर्ने बताउँछन्।
‘बजारमा माग बढिरहेको बेला उद्योगको उत्पादन बढाउनुपर्ने अवस्थामा लोडसेडिङ गराएर समस्या थुपारेको छ,’ उद्योगी अग्रवालले भने, ‘चर्चाको लागि बक्यौता रकमको बखेडा झिकिरहेको छ।’
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लाखौँलाई रोजगारी दिँदै अर्बौं रुपैयाँ राजश्व बुझाउने उद्योगीलाई प्राधिकरणले दुष्मनको रुपमा व्याख्या गर्दा समस्या उत्पन्न भएको बताए। प्रमाणबिना ट्रक÷डेडिकेटेड बक्यौताको विषयलाई हल्ला गरेर सार्वजनिक रुपमा चर्चा बटुलेर अर्बौं लगानी गरेर लाखौँलाई रोजगारी दिने उद्योगीलाई निरास बनाइरहेको बताउँदै यसमा सरकारले तत्काल नयाँ कदम चाल्न आवश्यक रहेको बताए।
सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष धुव्र थापाले प्राधिकरणको नेतृत्व उल्टो बाटोमा लागेकाले उद्योगी व्यवसायीले दुःख पाइरहेको बताउँदै यसले समग्रमा मुलुकलाई समस्या गर्ने बताए। ‘विश्वका अन्य मुलुकमा पहिलो प्राथमिकता उद्योग र पछि घरायसी हुन्छ,’ पूर्व अध्यक्ष थापाले भने, ‘तर यहाँ उल्टो भएको छ, उद्योगको लाइन काटेर घर घरमा दिएको भन्दै हल्ला गरिरहेको छ, जुन गलत हो।’