काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगहरूमा दैनिक लोडसेडिङ गरेको भन्दै विरोध जनाएको छ। विभिन्न उद्योगसँग सम्बन्धित संघ संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विरोध जनाएको हो।
आइतबार काठमाडौंमा आयोजित सम्मेलनमा बोल्दै उद्योगी तथा व्यवसायीहरूले विद्युत कटौती हुँदा कारखाना सञ्चालन गर्न कठिन भएको बताए। उनीहरूले घरहरूमा विद्युत कटौती नभए पनि उद्योग तथा कारखानामा दैनिक लोडसेडिङ हुँदै आएको बताएका थिए।
नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघको संयुक्त कार्यक्रममार्फत उद्योगमा विद्युत कटौती हुने गरेको तर लोडसेडिङको तालिका माग्दा दिन नसकेको भन्दै विरोध गरिएको हो।
‘नेपालको औद्योगिक क्षेत्रमा सधैँ लोडसेडिङ भइरहेको छ, तर नेपाल विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ? किन लोडसेडिङको सूचनासहितको तालिका दिँदैन,’ संयुक्त वक्तव्यमा भनिएको छ।
यस्तै, उनीहरूले देशमा लोडसेडिङको अन्त्य नभएको भन्दै झुठको खेती हुँदै आएको बताए। ‘विद्युत प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन, तालिका माग्दा लोडसेडिङ छैन भन्ने झुठो र भ्रामक प्रचारबाजीमा लागिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो गलत हो भन्ने कुरा तथ्य र तथ्यांकले पुष्टि गरेको छ। हामी त्यही गलत सूचनालाई गलत र भ्रामक छ भनेर जानकारी दिन लागिरहेका छौँ।’
यस्तै, उद्योगीहरूले सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिषचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गरी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा लाल आयोगमा २०७२ श्रावणदेखि पौष २९ गतेसम्म महसुल निर्धारण आययोगले महसुल दर निर्धारण नगरेको अवधिको डेडिकेटेड र ट्रंक लाइनको महसुल लिन र तिर्न नपर्ने स्मरण गराए।


