काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी वर्ष वैशाख २५ देखि २९ गतेसम्म हुने भएको छ।
मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघको पेभेलियन रहने छ।
नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ।
कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ। मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ।
महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादन, वस्तुगत संघहरुका उत्पादन, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीसमेत राखिने छ। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरक्रृया गराउने लक्ष्य समेत रहेको छ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्णसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन्।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ। विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्थासमेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ।