काठमाडौं। सेयर बजारमा ५३ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०४ अंक अर्थात् १.९८ प्रतिशतले घटेर २६१६.२६ विन्दुमा रोकिएको छ।
गत साताको पाँच कारोबार दिनमा पाँचै दिन घटेको नेप्से आइतबार पनि घटेको हो। गत साताको पाँच कारोबार दिनमा पाँचै दिन घटेको नेप्से ६७ अंकले संकुचित हुँदै बिहीबार २६६९ विन्दुमा रोकिएको थियो। अघिल्लो साता पनि नेप्से ८२ अंकले घटेको थियो।
नेप्सेमा भारी गिरावट आउँदा पनि कारोबार रकममा भने वृद्धि भएको छ। आज नेप्सेमा कुल ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।आइतबार कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २३० कम्पनीको घटेको छ।
आइतबार कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ८.७२ प्रतिशतले बढ्दा मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य १.४७ प्रतिशत, विकास बैंकको २.४२ प्रतिशत, फाइनान्स समूहको २.९९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२३ प्रतिशत, जलविद्युत् समूहको २.३३ प्रतिशत र लगानी समूहको सेयर मूल्य २.०५ प्रतिशतले घटेको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य १.८५ प्रतिशत, उत्पादन समूहको सेयर मूल्य १.४६ प्रतिशत, लघुवित्त समूहको २.३६ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.०७ प्रतिशतले घटेको छ।