काााठमाडौं। नेपाल नेत्रज्योति संघ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ। पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए। शिविर चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति संघका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए। शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ।
आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ ।
जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।
नेत्रज्योति संघ चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ।