काठमाडौं। पछिल्लो १३ कारोबार दिनमा सेयर बजार एक दिन उकालो लाग्दा १२ दिन घटेको छ। गत फागुन १८ गते सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.२४ अंकले बढेर २८९० विन्दुमा रोकियो। त्यसपछिका १३ कारोबार दिनमध्ये फागुन २८ गते नेप्से १७ अंकले बढे पनि बाँकी सबै दिन घटेर निरासातर्फ धकेलिएको हो।
फागुन १८ यताको १३ कारोबार दिनमा नेप्से एक दिन बढेर १२ दिन घट्दा कुल २२१ अंकको गिरावट आउँदै गत साता बिहीबार (चैत ७) २६६९.३१ विन्दुमा सीमित भएको छ। बजारले योबीचमा केही पटक फर्कने प्रयास गरे पनि सम्भव नहुँदा न्यून विन्दुमा खुम्चिन बाध्य भएको हो।
फागुन १७ अघिका ९ कारोबार दिन भने नेप्से लगातार उकालो लागेको थियो। अर्थात्, फागुन १ गते २६७८.४७ विन्दुमा रहेको नेप्से ९ कारोबार दिन लगातार बढ्दै २१२ अंकको वृद्धिका साथ फागुन १८ मा पुग्दा २८९० विन्दुसम्म पुगेको थियो। तर, उक्त दुई साताको ९ कारोबार दिन उकालो लागेर २१२ अंकले बढेको नेप्से माथिल्लो विन्दुमा टिक्न नसक्दा १३ कारोबार दिनमा २२१ अंकले घटेर एक महिनाअघिकै स्थितिमा पुगेको छ।
बजार केही माथिल्लो विन्दुमा पुगेपछि जब लगानीकर्ताले घटिहाल्छ कि भनेर नाफा बुक गर्छन्। यस्तो अवस्थामा केही करेक्सन आउँछ। अरु लगानीकर्ता पनि डराउँछन्।
गत साउन ३१ मा नेप्से ३००० विन्दुमाथि पुगेर फर्किएपछि अधिकांश समय २६०० विन्दु वरिपरी रहेको थियो। त्यसबाट सकारात्मक बन्दै यहीबीचमा अर्थात् फागुन १९ मा नेप्से २९२९.२१ विन्दुसम्म पुग्यो। कठिन मान्दै नेप्सेले साढे २८०० विन्दुको रोकावट पार गरे पनि लगानीकर्ता बजार घट्ने आशंकामा नाफा बुकतर्फ लागे।
बजार केही माथिल्लो विन्दुमा पुगेपछि जब लगानीकर्ताले घटिहाल्छ कि भनेर नाफा बुक गर्छन्। यस्तो अवस्थामा केही करेक्सन आउँछ। अरु लगानीकर्ता पनि डराउँछन्। यसपछि, सेयर बिक्री गर्नेको चाप बढ्छ। बजार घटाउन मद्दत पुग्छ। हालको स्थिति पनि सोही प्रकृतिको देखिन्छ। बजार २८०० माथि पुगेपछि एक समूहले नाफा बुक गर्दा अन्य लगानीकर्ता पनि घट्ने त्रासले सेयर बिक्रीमा लाग्दा लाग्दै ठूलो गिरावट आएको देखिन्छ।
मानौँ, कुनै स्थानीय जग्गा बजारको मूल्य घट्ने अपेक्षा गरिएको छ। यस अपेक्षाका कारण धेरै घरधनीले आफ्नो सम्पत्ति बेच्ने निर्णय गर्छन्। बजारमा बिक्रीका लागि धेरै सम्पत्ति उपलब्ध भएपछि आपूर्तिमा वृद्धि हुन्छ। आपूर्ति बढी भएपछि जग्गाको मूल्य घट्न थाल्छ। यसरी, जग्गा बजारको मूल्य घट्ने अपेक्षाले अन्ततः बजारको मूल्य घट्ने स्थिति सिर्जना गरिदिन्छ। हालको बजारको स्थिति यस्तै भएको देख्न सकिन्छ।
बजार घट्नुपर्ने कारण भने नभएको तर्क लगानीकर्ताले गर्दै आएका छन्। सेयर लगानीकर्ताले हालको वित्तीय सूचक सेयर बजारको पक्षमा भएको र समग्र माहोल सकारात्मक रहेको बताउँदै आएका छन्। सेयर बजारसँग महत्वका साथ जोडेर हेरिने विदेशी मुद्रा सञ्चिति राम्रो छ। रेमिट्यान्सको वृद्धि दर सकारात्मक छ भने ब्याजदर न्यून र तरलता पर्याप्त छ। सकारात्मक माहोलबीच बजार भने सो ढंगमा अगाडि बढ्न सकेको छैन।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकाएर अवकाशमा जाने मिति नजिकिँदा आगामी नेतृत्व कस्तो आउनुपर्छ भन्ने विषय चर्चामा छ।
यहीबीचमा गत साताबाट नियमित कारोबार सत्रमा अपरान्ह २ बजेर ४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम हुन थालेको छ। यो व्यवस्था लागू भएसँगै नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय थर्न थालेको छ। २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म हुने कारोबार मूल्यको भारित औसत मूल्य भोलिपल्टको पहिलो कारोबार मूल्यतय हुन थालेसँगै यसले कारोबारमा हुने चलखेल कम गर्न सक्ने कुरा पनि आइरहेका छन्।
अर्कोतर्फ, लगानीकर्ताले लामो समयदेखि चासोको रुपमा हेरिएको गभर्नर नियुक्ति पनि नकिँदै छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकाएर अवकाशमा जाने मिति नजिकिँदा आगामी नेतृत्व कस्तो आउनुपर्छ भन्ने विषय चर्चामा छ। गभर्नर नियुक्तिका लागि एक साताअघि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गभर्नर सिफारिस समितिगठन गरिसकेको विषयसमेत बाहिरिसकेको छ।
गभर्नर अधिकारी पदबाट बाहिरिएसँगै बजारले गति लिने चर्चा लामो समयदेखि हुँदै आए पनि त्यसको छाँटकाँट देखिसकेको छैन। गत साता पनि नेप्से ६७ अंकले घट्यो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २७३६ विन्दुमा रहेको नेप्से गत साताको पाँच कारोबार दिनमा पाँचै दिन घटेर ६७ अंकले घटेर २६६९ विन्दुमा रोकिएको छ। अघिल्लो साता पनि नेप्से ८२ अंकले घटेको थियो।
नेप्सेमा आएको संकुचनसँगै गत साता कारोबारमा पनि उच्च गिरावट आयो। गत साताको पाँच कारोबार दिनमा नेप्सेमा कूल २५ अर्ब ९६ करोड बराबरको कारोबार भएको छ। अघिल्लो साताको चार कारोबार दिनमा भने नेप्से ३३ अर्ब ७० करोडको कारोबार भएको थियो। त्यसअघिको साता भने नेप्सेमा ६१ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो। यसरी कारोबार रकममा पनि ठूलो संकुचन आइसकेको छ।
गत साता बैंकिङ इण्डेक्स २.२३ प्रतिशत, विकास बैंक ३.८७ प्रतिशत, फाइनान्स ४.१९ प्रतिशत, जलविद्युत् ३.०३ प्रतिशत र जीवन बिमा इण्डेक्स ३.७५ प्रतिशतले घट्यो। यस्तै, निर्जीवन बिमा समूहमा २.६७ प्रतिशत, लघुवित्त समूहमा २.३२ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत र लगानी समूहमा २.७५ प्रतिशतको गिरावट आयो। व्यापार समूहमा भने १.५५ प्रतिशतको सुधार आयो।