काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएका छन्।
कांग्रेस तनहुँ क्षेत्र नं २ ले दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले अहिलेको कानुनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्।
महामन्त्री शर्माले भने, “अब कानुन, प्रशासनलगायत क्षेत्रमा २० वर्ष बढी काम गरी अनुभव बटुलेका, निष्पक्ष व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरौँ। मैले यो विषय राज्य व्यवस्था तथा सुशासन समितिमा उठाइरहेको छु। विस्तारै यो बहसमा आउने विश्वास छ । खुल्ला प्रतिस्पर्धाबाट आएका व्यक्तिले थप निष्पक्ष र पारदर्शी ढङ्गबाट काम गर्न सक्छन्।”
उनले पार्टीको महाधिवेशन २०८४ अगावै हुने बताए। उनले थपे, “२०८४ मा आमनिर्वाचन हुने भएकाले पार्टीको महाधिवेशन उक्त निर्वाचन अघि सम्पन्न गर्नुपर्ने अवस्था छ।”
कांग्रेसको विधान र मुलुकको संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने स्पष्ट उल्लेख गरेकाले बढीमा छ महिनासम्म मात्रै समय थप गर्न सकिने उनको भनाइ थियो।
महामन्त्री शर्माले कांग्रेस आफैँमा बलियो हुनुपर्नेमा जोड दिँदै सबैबीच एकता र सद्भाव कायम राख्न सक्नुपर्ने धारणा राखे। उनले भने, “कांग्रेसले आन्तरिक सुधार गर्नुपर्छ। एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले कांग्रेसलाई स्वीकार गर्ने छन्। पार्टीभित्रका समस्या समाधान गर्दै कांग्रेस एक बनाउने अभियानमा सबै लाग्नु पर्छ।”
उनले पार्टीभित्रको वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको बताए।