काठमाडौं। गर्मी मौसम सुरु भइसकेको छ। राजधानी काठमाडौंसहित देशैभर गर्मीको पारो उकालो लाग्दो छ। अझ तराई/मधेसमा गर्मीले असिनपसिन बनाउन थालिसकेको छ। यस्तो बेला खानपानमा ध्यान नदिँदा र अलिकति लापर्वाही गर्दा बिरामी हुन के बेर!
जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ। पाचन शक्ति कमजोर हुँदा स्वास्थ्यसम्बन्धी रोग उब्जिन सक्छन्। पेट दुख्ने, कब्जियत हुने, खाना खान मन नलाग्ने, आलस्य बढ्ने, निद्रा लागिरहने हुन्छ। अतः गर्मीका बेला पानीको मात्रा बढी भएका तरकारी सेवन गर्नु लाभदायी हुन्छ।
गर्मीका बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैन। फुड प्वाइजनको समस्या हुन्छ। त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ। गर्मीमा पाचन शक्तिका लागि लाभदायी यी तरकारी खानु उपयोगी हुन्छ:
करेला
स्वादमा तीतो भए पनि करेला स्वास्थ्यका लागि लाभदायी मानिन्छ। यसले सजिलै खाना पचाउन सहयोग गर्छ। यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्दत गर्छ। यसका साथै प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ। करेलाले पाचनशक्ति मजबुत पार्ने भएकाले भोक पनि जगाउँछ। यो चिसो खाले तरकारी भएकाले गर्मी मौसममा सेवन गर्नु राम्रो मानिन्छ ।
फर्सी
फर्सी खनिज तत्त्वले भरपुर हुन्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसिडिटी हटाउन र तौल कम गर्न सघाउँछ। यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ। गर्मी मौसममा पेट गडबड हुनेका लागि यसको सेवन लाभदायी मानिन्छ।
गोलभेंडा
प्रत्येक नेपालीमा भान्सामा प्रयोग हुने गोलभेंडा पनि गर्मी मौसमका लागि उपयुक्त तरकारी हो। दिनहँु एउटा गोलभेंडा खाने हो भने धेरै खाले रोगबाट बच्न सकिन्छ। यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ। गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउने स्वास्थ्यकर्मी बताउँछन्। यो मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ।
हरियो सिमी
हरियो सिमी खाँदा शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त हुन्छ। यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ। पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा बढाउँछ। नयाँ कोशिका निर्माणमा मद्दत गर्छ ।
लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ। सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खाले तरकारी हो। यसले कलेजो स्वस्थ राख्न मद्दत गर्छ। क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ। गर्मी मौसममा यसले पेट सफा पार्छ। ग्यास बन्न दिँदैन। फाइबर पनि हुने हुँदा अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ।
प्याज
गर्मी मौसममा प्याज सेवन स्वास्थ्यका लागि लाभदायी र प्रभावकारी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ।
गर्मीमा काँचो प्याज खानाले लू नलाग्ने स्वास्थ्यकर्मी सुझाउँछन्। यसलाई तरकारीको रुपमा मात्र नभई काँचै सलादका रुपमा खान सकिन्छ।