चितवन। जिल्लामा उत्पादित गाजर र चुकन्दर विदेश निर्यात सुरु भएको छ। जिल्ला प्रांगारिक संघमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो।
भरतपुर महानगर–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मन निर्यात गर्न थालिएको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ। अझै ४२ टन बाँकी छ।’ संघमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उनले बताए।
तीन वर्षदेखि यहाँ उत्पादित प्रांगरिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ। उनले भने, ‘सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ। अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ।’
सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए। गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ। उनका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ। जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो।
यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ। जर्मन जाने गाजर प्रतिकिलो २० र चुकन्दर ५० मा पठाउने गरिएको संघका सदस्य छविलाल न्यौपानेले जानकारी दिए। संघमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उनले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गरे।
उनले भने, ‘अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ।’ यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौँलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताए।–रासस