काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको अव्यवस्थापनका कारण अघोषित लोडसेडिङको मारमा परेका उद्योगीले वैकल्पिक व्यवस्था गरेर कलकारखाना चलाइरहेका छन्।
गत जेठदेखि नै अघोषित लोडसेडिङको मारमा परेका धागो उद्योगले डिजेलको व्यवस्था गरेर उद्योग सञ्चालन गरिरहेका हुन्।
गत आइतबारदेखि देशमा सञ्चालित उद्योगले दैनिक १२ घन्टा लोडसेडिङ बेहोर्न थालेपछि नेपालको औद्योगिक क्षेत्र चिन्तित बनिरहेको छ। तर, यही समयमा धागो उद्योग वैकल्पिक इन्धनको प्रयोग गरेरै भए पनि उत्पादन नघटाउने पक्षमा छन्।
उसो त, विद्युत् प्राधिकरणले बिजुली माग र आपूर्तिबीच सन्तुलन मिलाउन नसक्दा देशमा औद्योगिक वातावरण नै बिथोलिएको छ।
पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घन्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिनै विद्युत् कटौती गरिएको छ। सोही कारण उद्योगले आफैं वैकल्पिक उपायमार्फत उत्पादन गदै आएका छन्।
धागो उत्पादनमा अग्रपंक्तिमा रहेको रिलायन्स स्पिनिङ मिल्सले केही वर्षदेखि नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको छ। रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ।
विगतदेखि नै अघोषित लोडसेडिङ भइरहने गरेकाले उद्योगले वैकल्पिक ऊर्जा व्यवस्थापन गर्नुपरेको हो। अहिले सूचनाबिनै प्राधिकरणले विद्युत् आपूर्ति कटौती गरेको समयमा वैकल्पिक ऊर्जाबाट उद्योग सञ्चालन भइरहेको छ। यसले प्राधिकरणले विद्युत कटौती हुँदा व्यवसायीले वैकल्पिक ऊर्जाको प्रयोग गर्न बाध्य भएका हुन्।
सोलारले पनि नपुगेको अवस्थामा उद्योगले डिजेल प्रयोग गरेर ऊर्जा व्यवस्थापन गरेको छ। उद्योगले उत्पादन कटौती गर्दा त्यसको असर उद्योगलाई मात्र नपरेर हरेक नागरिकलाई पर्न जान्छ। रोजगारी कटौतीदेखि आर्थिक समस्या पर्ने अवस्था सिर्जना हुन्छ।
तर, अहिलेको परिस्थितिमा वैकल्पिक उपायबाट भए पनि उत्पादनलाई निरन्तरता दिएर निर्यात र रोजगारीमा संकुचन आउन नदिने रिलायन्स स्पिनिङ मिल्सको भनाइ छ।
रिलायन्स स्पिनिङ मिल्समा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। वैकल्पिक ऊर्जा खर्च गरेर उद्योग चलाउँदा ती सबैलाई सहज हुने र राज्यलाई पनि सहज हुने उद्योगले बताएको छ।
उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात गर्दै आएको छ। लोडसेडिङ भएपनि सबैमा निर्यात गराइरहने उद्योगले जनाएको छ।
उत्पादनको ठूलो हिस्सा निर्यात गर्ने उद्योगले निर्यातचक्र नबिथोल्न पनि वैकल्पिक ऊर्जा व्यवस्थापन गरेको हो। लोडसेडिङको मारमा जगदम्बा स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्सलगायत पनि छन्। यतिमात्र नभएर प्राधिकरणको अव्यवहारिक नीति र अघोषित लोडसेडिङका कारण धेरै उद्योगले उत्पादनदेखि कर्मचारी कटौतीसमेत गर्दै आएका छन्।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने जसरी हुन्छ, लोडसेडिङ गराइदिने गरी अगाडि बढ्दै गएको देखिन्छ। उनले रातीको समयमा माथिल्लो तामाकोशी र कुलेखानीजस्ता आयोजना चलाउन सकिने भए पनि उद्योगीलाई नदिनकै लागि नचलाउने बताउँदै आएका छन्।
उद्योगी र सरकारसँग झगडा गर्दै मुलुकलाई अघोषित लोडसेडिङको भूमरीमा पार्दै आएका घिसिङले उद्योगीलाई प्रभावित पार्ने गरी विद्युत् आपूर्ती कटौती गर्दै आइरहेका छन्। घिसिङको सो कामबाट सरकार रुष्ट बनेको छ। उनलाई हटाउन पटक–पटक स्पष्टीकरण सरकारले सोधिसकेको छ।