काठमाडौं। लिजेन्ड प्रोपर्टीले सरकारको नीति पालना गरेर सबै मापदण्ड पूरा गरी निर्माण गरिएको जग्गा विकास आयोजनामा ग्लोबल आईएमई बैंकले सस्तो र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ।
शुक्रबार बैंकका प्रतिनिधि र लिजेन्ड प्रोपर्टी सञ्चालकबीच अन्तरक्रिया कार्यक्रम गर्दै जग्गा खरिद गर्ने ग्राहकलाई सस्तो र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने सहमति भएको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिका कलामसेमा निर्माण गरेको जग्गा विकास आयोजनाको फिल्डमै भएको अन्तरक्रिया कार्यक्रममा बैंकबाट केन्द्रीय प्रतिनिधि र भक्तपुर जिल्लाअन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुख र उपप्रमुख उपस्थित थिए।
बैंकका प्रतिनिधिले लिजेन्ड प्रोपर्टीले सञ्चालन गरेको पलासेको रिखेटार पाखो जग्गा विकास आयोजना र सिपाडोलको भाइरल जग्गा विकास आयोजना अवलोकन गर्दै कलमसे हिल्स जग्गा विकास आयोजनामा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए।
कलामसे हिल्स जग्गा विकास आयोजनाबारे लिजेन्ड प्रोपर्टीका उपाध्यक्ष पूर्णबहादुुर लिम्बूले जानकारी गराएका थिए। सोही अवसरमा लिजेन्डले नेपाल भित्र्याउन लागेको प्रिकास्ट कंक्रिट होमको सान्दर्भिकता, उपयोगिता, प्रभावकारिकता र यसको आवश्यकताको सन्दर्भमा स्टक्चलर इन्जिनियर दिनेश पोखरेलले बैंकका प्रतिनिधिलाई जानकारी गराएका थिए।
बैंकका तर्फबाट एसएमई एन्ड रिटेल रिलेसनसिप म्यानेजर गुन्जदास श्रेष्ठले कम्पनीले तयार पारेको जग्गा विकास आयोजना अवलोकनपछि खुसी लागेको बताए। बैंक र कम्पनीबीचको साझेदारीले ग्राहकलाई सहज, सुलभ र झन्झटरहित वातावरणमा कर्जा प्रवाह गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।

लिजेन्ड प्रोपर्टीका अध्यक्ष प्रविन कुस्माले बैंकसँगको साझेदारीले कम्पनी र ग्राहकबीच पुलको काम गरेको बताए। ‘बैंकको साथ र सहयोगले जग्गा विकास आयोजना समयमै सम्पन्न गर्ने र टुक्रा जग्गा बिक्रीका लागि सहयोग पुग्छ,’ अध्यक्ष कुस्माले भने, ‘यसले ग्राहक र व्यवसायीबीच विश्वासको वातावरणसमेत राम्रो बन्छ।’
लिजेन्ड प्रोपर्टीले उपत्यकाका घरजग्गा सर्वसाधारणको पहुँचमा पुर्याउने गरी काम गरिरहेको अध्यक्ष कुस्माले जानकारी दिए। लिजेन्ड प्रोपर्टीका प्रबन्ध निर्देशक रविन राईले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका बजार प्रतिनिधि टेक १०१ को उपस्थिति थियो।
लिजेन्डले काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामसे, दक्षिणकाली नगरपालिकास्थित चाङ्लाखेल र काभ्रेको बालुवामा जग्गा विकास आयोजना सञ्चालन गरिरहेको छ। भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनी क्षेत्रफलमा फैलिएको छ।