काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी (नेपाल)ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र युएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह एवं यूएनडीपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सीईओ जोशी र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गरे।
स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताएका छन्।
कुल लागत ५ मिलियन (९५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १।५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ।
यस परियोजनाले तीन वर्षको अवधिमा २,५०० दिगो रोजगारी सिर्जना गर्ने र ५,००० जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
प्रमुख पर्यटकीय स्थलमा साना पर्यटन पूर्वाधार तथा पदमार्ग निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ।
कार्यक्रममा बोर्डका सीईओ जोशीले युएनडीपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई मात्र उन्नति गर्ने होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसर प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्छ।’
त्यसैगरी, युएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडीपीले जोडिन पाउँदा गर्व महसुस गरेको छ। यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।’
परियोजनाले नेपालको १६औं योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३-२०३२) परिकल्पना गरेको प्राथमिकता २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउनु र नेपाललाई विश्वभरका यात्रुका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउन बल पुर्याउने बोर्डले जनाएको छ। नेपाल पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३.५ मिलियन पुर्याउने लक्ष्य लिएको छ ।
बोर्ड र युएनडीपी नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजनाले कोभिड १९ महामारीपश्चात प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै १,६०० जनालाई रोजगार सिर्जना गरेको थियो ।
नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ।