काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट दैनिक ३ ओटा एयरलाइन्सले नेपालमा उडान गरिरहेको छ । अझै २ ओटा नयाँ एयरलाइन्स आउने तयारीमा छन् । तर, नेपालबाट भने नेपाल एयरलाइन्सले मात्र उडान गर्दै आएको छ ।
नेपाल भारत उडानमा एयरलाइन्सको लागि भारतको सबैभन्दा आकर्षक गन्तव्यको रुपमा दिल्लीलाई लिने गरिन्छ । सोहि कारण दिल्लीबाट नेपाल आउने एयरलाइन्सको संख्या बढिरहेको छ । दैनिक विदेशी एयरलाइन्सले दिल्लीबाट काठमाडौं उडान भरिरहदा नेपालका अन्य एयरलाइन्सहरुले पनि दिल्ली उडान गर्ने सोच नबाएको भने होइन ।
तर, नेपाल एयरलाइन्स बाहेक अन्य कुनै एयरलाइन्सलाई दिल्ली उडानको लागि अनुमति दिएको छैन । दिल्लीबाहेकका अन्य विमानस्थलमा भने उडान अनुमति पाएका छन् । बुद्ध एयर र श्री एयरलाइन्सले भारतका विभिन्न क्षेत्रमा उडान अनुमति पाएका छन ।
बुद्धले केहि समय अघि बनारस र कोलकत्तामा नियमीत उडान सुरु गरेको थियो ।
तर, अन्तर्राष्ट्रिय उडानमा घाटा भएको भन्दै बुद्धले कोलकत्ताको उडान बन्द गरिसकेको छ भने बनारसमा जसोतसो उडान भरिरहेको छ ।
बुद्धले दिल्ली उडानको लागि पनि अनुमति मागेको थियो । अनुमति नपाएपछि अहिले बनारसमा मात्र उडान गरिरहेको छ । श्री एयरलाइन्सले पनि दिल्ली उडानको लागि अनुमति माग्न प्रक्रिया अगाडी बढाइरहेको छ । कोलकत्ता लगायतका अन्य विमानस्थलमा उडान अनुमति पाएसगै उडानको तयारी गरिरहेको छ । तर, यसको मुख्य लक्ष्य दिल्लीमा भने अनुमति पाइसकेको छैन ।
यस अघि हिमालय एयरलाइन्सले पनि दिल्ली उडानको लागि अनुमति मागेको थियो । तर, हिमालयले पनि अहिलेसम्म अनुमति पाएको छैन । चीनको लगानी रहेकै कारण हिमालयलाई अनुमति नदिएको हुन सक्ने हवाई विज्ञहरुको अनुमान छ ।
भारतमा मात्र हैन, अर्को छिमेकी मुलुक चीनको बेइजिङमा पनि नेपाली एयरलाइन्सले उडान अनुमति पाउन मुस्किल छ । बेइजिङबाट केहि महिना अघिबाट हिमालय एयरलाइन्सले सिधा उडान गरेको छ भने चीनियाँ एयरलाइन्सले सिधा उडान गरेको छैन । नेपाल एयरलाइन्सले लामो समय देखी अनुमति मागेपनि पाएको छैन । अहिले अनुमति पाएको एयरलाइन्सले पनि कोरना भाइरसको कारण उडान अनिश्चित भएको छ ।
बेइजिङबाट अन्य एयरलाइन्सलाई नेपाल उडान गर्न अनुमति नदिएकै कारण अहिले त्यहाँको उडान महंगो हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
सिधा उडान नगरेपनि विभिन्न विमानस्थलबाट सहकार्य गरेर चीनिया जहाजले नेपाल उडान गरिरहेको छ । चीन र भारतले उडान अनुमती दिन कन्जुस्याई गर्दा चीनमा मात्र हैन, भारतको दिल्लीको भाडा दर पनि महंगो छ । भारतीय एयरलाइन्सको एकाधिकार भएकै कारण भाडादर मंहगो भएको पर्यटन व्यवसायीहरुको गुनासो छ ।
एयरलाइन्समा प्रतिस्पर्धा भएपनि भाडामा भने सहमत भएकै कारण महंगो हुने गरेको होटल एसोसियन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ । हवाई भाडा महंगो भएकै कारण पर्यटकहरुले नेपालमा गर्ने खर्च कम भएको उनि बताउछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का पूर्व महानिर्देशक विरेन्द्र देउजाले नेपाली एयरलाइन्सहरुलाई पनि विदेशमा उडान गर्न सहकार्य गरिदिन आवश्यक रहेको बताए । दुई देशबीच हुने हवाई सम्झौतामै दुबै देशका एयरलाइन्सहरुले उडान गर्न पाउने सहमति हुने गरेको बताउदै त्यसका लागि आवश्यक पहल सम्बन्धीत देशका दूतावासहरुले गरिदिनु पर्ने उनको भनाइ छ ।
भारत र चीनका एयरलाइन्सले नेपालमा उडान अनुमति लिन त्यहाँका राजदूतावासका कर्मचारीहरु आफै विभिन्न मन्त्रालयमा गएर सहजिकरण गरिदिने गर्छन ।
तर, भारत र चीनमा रहेको नेपाली दुतावासले भने नेपाली एयरलाइन्सको प्रमोशनको लागि कुनै समन्वयकारी भूमिका नगरेको एयरलाइन्स सञ्चालकहरुको जिकिर । सोहि कारण नेपाली जहाजहरु ती मुलुकमा सहज रुपमा जान सकेका छैनन् ।
भारत र चीनबाट नेपाल आउने एयरलाइन्सलाई धमाधम स्लट दिइन्छ भने तीनै देशमा नेपाली एयरलाइन्सलाई स्लट पाउनै मुस्किल छ ।