काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकाएर अवकाशमा जाने मिति नजिकिँदो छ। राष्ट्र बैंकको मूल नेतृत्ववमा रहेका अधिकारी बिदा हुनै लाग्दा सरकार १८औं गभर्नरको खोजीमा छ।
एक साताअघिको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गभर्नर सिफारिस समितिसमेत गठन गर्ने निर्णय गरिसकेको छ। यद्यपि हालसम्म सिफारिस समिति गठनबारे सार्वजनिक भने गरिसकिएको छैन।
केन्द्रीय बैंकको भावी गभर्नर छनोटको तयारी भइरहेका बेला योग्यताको मापदण्ड र उपयुक्त व्यक्तिको छनोटबारे व्यापक बहस भइरहेको छ। गभर्नरले विशुद्ध वित्तीय क्षमता मात्र नभएर व्यावहारिक आर्थिक नीति निर्माण र कार्यान्वयनमा समेत दख्खल राख्नुपर्छ।
राष्ट्र बैंक स्वायत्त निकाय हुुनुका साथै सरकारको आर्थिक सल्लाहकारसमेत हो। यसले गर्दा भावी गभर्नर आर्थिक विज्ञ, बैंकिङ क्षेत्रको जानकार, कुनै राजनीतिक प्रभाव नभएको ‘अपरेसनल फ्रिडम’ लिन सक्ने व्यक्ति हुनुपर्नेमा सबैको एकमत देखिन्छ। देशको वर्तमान आर्थिक अवस्थामा राष्ट्र बैंकको गभर्नर अनुभवी, प्रविधिक रूपमा दक्ष र मौद्रिक नीति तथा वित्त नीतिबीच समन्वय गर्न सक्ने हुनुपर्नेमा सबै विज्ञ एकमत छन्।
यद्यपि राष्ट्र बैंकको गभर्नरका लागि ऐनले योग्यता तोकिदिएको छ। राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर मौद्रिक नीति, बैंकिङ, वित्तीय प्रणाली वा समष्टिगत अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण, वित्तीय क्षेत्र, बैंकिङ वा सार्वजनिक नीतिमा कम्तीमा १० वर्षको अनुभव भएको, स्वतन्त्रता र निष्पक्षता कायम राखी राजनीतिक प्रभावबाट मुक्त रही राष्ट्र बैंकलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने क्षमता भएको, मौद्रिक नीति र वित्तीय स्थिरताबीच समन्वय गर्न सक्ने, नेपालका लागि आवश्यक आर्थिक नीति तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रभाव बुझ्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ।
२०७६ चैत २४ गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा अधिकारीलाई ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। अधिकारीको कार्यकाल चैत २६ देखि समाप्त हुँदै छ। अधिकारीको कार्यकाल समाप्त हुनुअघि नै राष्ट्र बैंकको भावी गभर्नर चयन गर्नुपर्ने जिम्मेवारी सरकारलाई छ।
सोहीअनुसारको तयारी सत्ता पक्षमा रहेका राजनीति दल छन्। तर, नयाँ गभर्नर राजनीतिक हस्तक्षेपभन्दा मुक्त, मौद्रिक नीति र वित्त नीतिबीच सन्तुलन गर्न सक्ने, अनुभवी र अर्थतन्त्र सुधार्न सक्षम व्यक्ति हुनुपर्नेमा पूर्वअर्थमन्त्रीहरू, राष्ट्र बैंकका पूर्वगभर्नरहरू र अर्थविद्हरू जोड दिन्छन्।
सरकारको स्वार्थभन्दा पनि राष्ट्र बैंकको स्वायत्तता जोगाउने नेतृत्व आवश्यक रहेको उनीहरूले औंल्याएका छन्। गभर्नर आकांक्षीमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय, कार्यकारी निर्देशकहरू, पूर्वकार्यकारी निर्देशकहरू, आर्थिक क्षेत्र सम्बद्ध अन्य व्यक्ति र केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसहित करिब एक दर्जन आकांक्षी रहेका छन्।
उनीहरू रानजीतिक शक्ति केन्द्र र व्यावसायिक घरानामा गभर्नर पदको सुनिश्चिततामा लबिङ गरिरहेका छन्। व्यावसायिक स्वार्थ, राजनीतिक स्वार्थ होस् या व्यक्तिगत। स्वार्थ बोकेका समूह पनि राष्ट्र बैंकको भावी गभर्नर आफू अनुकूल व्यक्ति नै नियुक्त होस् भन्ने चाहनाअनुसार लबिङमा छन्।
क्यापिटल नेपालले राष्ट्र बैंकको १८औं गभर्नर कस्तो हुनुपर्छ भनेर अर्थविद्, राष्ट्र बैंककै पूर्वगभर्नर र पूर्वअर्थमन्त्रीसँग सोधीखोजी गरेको छ।
डा. समिर खतिवडा,अर्थविद्

‘अहिले देशको अर्थतन्त्र समस्या छ। यही परिस्थिति मूल्यांकन गरेर सरकारले राष्ट्र बैंकको भावी गभर्नर चयन गर्नुपर्छ। राष्ट्र बैंकको मौद्रिक नीति बनाउनेदेखि लिएर त्यसको कार्यान्वयन गर्ने काम हुन्छ। राष्ट्र बैंकको भावी गभर्नर अन्तर्राष्ट्रिय स्तरमा अनुभव भएको व्यक्ति भए राम्रो हुन्छ। केन्द्रीय बैंकको भूमिका भनेको क्रेडिबिलिटी (विश्वसनीयता) को पनि हो। त्यहीअनुसारले प्राविधिक रुपमा दक्ष मानिस राष्ट्र बैंकको गभर्नर हुनुपर्छ।
मौद्रिक नीति र वित्त नीतिले सँगै काम गर्ने हुन्छ। मौद्रिक नीतिको भूमिका राम्रो बुझेको मान्छेले वित्त नीति प्रभावकारी हुनलाई त्यसको अनुकुल मौद्रिक नीति हुनु पर्छ। राष्ट्र बैंक स्वायत्व निकाय भएको हुँदा कहिलेकाहीँ यो दुई नीतिका बीचमा टसल हुन ठीकै हो। तर, यो सबै बुझेको मानिसलाई पनि ‘बाह्य झट्का’ (एक्सर्टनर सक्स्स) बुझेको हुँदा उसले समयमै त्यसको समाधान पहल गर्न सक्छ। त्यसका लागि आवश्यक नीति बनाउन सक्छ।
डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री

‘अहिलको सरकारले राष्ट्र बैंकको भावी गभर्नर खोज्दै छ। अहिलेको आर्थिक अवस्था सुधार्ने महत्त्वपूर्ण भूमिका खेल्ने प्रकारको व्यक्ति नियुक्त गर्न नेपालमै नभए विदेशमा भएका योग्य गैरआवासीय नेपालीलाई पनि आवश्यक ठाने नियुक्त गर्न सक्नुपर्छ। नेपालभित्रैको हुनुपर्छ भन्ने छैन।
सरकारले गभर्नर नियुक्ति प्रकृया अघि बढाउँदै छ। अर्थतन्त्र बुझेको, वित्त नीतिलाई समन्वयकारी बनाएर आशा जगाउने, अहिलेको परिस्थितिलाई सम्बोधन गर्ने, व्यावसायिक रुपमा काम गर्न सक्ने व्यक्ति ल्याइनुपर्छ। सरकारले बनाएको गभर्नर छनोट सिफारिस समितिमार्फत यस्ता व्यक्ति नै सिफारिस हुनुपर्छ।
मुलुकको आर्थिक पाटोमा देश र जनतालाई परिस्थिति बुझेर हेर्ने व्यक्तिलाई राष्ट्र बैंकको भावी गभर्नर सिफारिस गरिनुपर्छ। राजनीतिक, पार्टीगत वा व्यक्तिगत स्वार्थमा भावी गभर्नर बन्नुहुँदैन। क्षमता पनि भएको र निष्पक्ष तबरबाट देशको वित्तीय क्षेत्रलाई चलाउन सक्ने मान्छे गभर्नरमा आउनुपर्छ।
यस्ता विषय नबुझेका गभर्नरबाट देशको वित्तीय क्षेत्र चलाउन सरकारको अर्थमन्त्रीलाई समस्या हुन्छ। सत्तामा भएको राजनीतिक दलले नियुक्त गरेको गभर्नरले अर्को दलको सरकार आउँदा उसलाई असहयोग गर्ने समस्या हुन्छ। ५ वर्षका लागि राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी पाएको व्यक्तिले जुनसुकै सरकार आए पनि अर्थतन्त्रको नाडी समाएर बैंकिङ क्षेत्रलाई परिचालन गर्ने, मूल्यवृद्धिको अनुगमन तथा नियन्त्रण गर्ने, मूल्य स्थिरता कायम गर्न सक्ने, आर्थिक वृद्धिका लागि लगानी प्रोत्साहन गर्नेलगायत अर्थतन्त्रलाई सही बाटोमा पुर्याउन काम गर्न सक्ने मान्छे चाहिन्छ। दक्ष व्यक्ति गभर्नर भए मात्रै सरकारलाई पनि वित्तीय व्यवस्थापन गर्न सहज हुन्छ।
डा. सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

‘कानुनतः राष्ट्र बैंकको गभर्नर कुनै पनि राजनीतिक पाटीको हुँदैनन्। तर, वित्त नीति र मौद्रिक नीति अलग–विषय होइनन्, यसअघिका केही अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीति अलग अलग धु्रव बनाएर राष्ट्र बैंकको गभर्नरले सहयोग गरे काम गर्छु भन्ने मन्त्री भए। यसो भन्ने अवस्था सिर्जाना हुनु भनेको अर्थमन्त्रीकै कमजोरी हो। राष्ट्र बैंककको गभर्नरलाई आफ्नो नियन्त्रणमा राख्न नसके कोही अर्थमन्त्री हुँदैनन्। म अर्थमन्त्री हुँदा मेरो पार्टी समर्थक गभर्नर थिएनन् भने विचार मिल्ने पनि थिएनन्। तर, नियन्त्रणमै राखेर चलाएको थिएँ। मेरो अनुभवमा राष्ट्र बैंकको गभर्नरले कहिलै असहयोग गरेनन्। अर्थमन्त्रीलाई वित्त नीति चलाउन सहयोग गर्ने मौद्रिक नीति निर्माण गर्ने गभर्नर आउनुपर्छ भन्ने होइन। वित्त नीतिलाई सहयोग गर्ने मौद्रिक नीति निर्माण गराउन सक्नु अर्थमन्त्रीको क्षमतामा भर पर्ने विषय हो।
अहिलेको अवस्थाअनुसार क्षमता भएको व्यक्ति आवश्यक छ। मौद्रिक नीति र वित्त नीति भनेको अलग होइन, यो एकअर्काको पूरक हो। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक प्रभाव हुनुहुँदैन भने पनि हुन्छ। तर, राष्ट्र बैंकको गभर्नर हुन पार्टी त्याग गरेका हुन्छन्। पार्टी सदस्य हो भनेर प्रमाणित गर्न सकिन्न तर पार्टी समर्थकै हुन्छन्। नभए पनि पार्टीको चिनजानबाट गभर्नर भएका हुन्छन्। बिनाराजनीतिक पहुँच गभर्नर नियुक्ति पाउन सक्दैनन्। त्यसैले यो पार्टीको वा पार्टी बाहिरको भन्दा पनि राष्ट्र बैंकको गभर्नर विज्ञ, योग्य र इमानदार व्यक्ति हुनैपर्छ। सत्तासीन राजनीतिक पार्टीले विपक्षी दल समर्थक व्यक्तिलाई ल्याउँदैन। तर, जुनसुकै पार्टीको व्यक्ति भए पनि सरकारका वित्त नीतिलाई सहयोग गर्ने हुनुपर्छ।
डा. चिरञ्जीवी नेपाल, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको १८औं गभर्नरका लागि नेपालमै योग्य व्यक्ति छन्। सरकारले त्यस्ता योग्य व्यक्तिको पहिचान गर्न सक्नुपर्छ। राष्ट्र बैकको गभर्नर कुनै पनि आग्रह–पूर्वाग्रहमा नपर्ने, नियुक्त गर्नेले पनि आग्रह–पूर्वाग्रह त्यागेर अहिलको वातावरणलाई सम्हाल्न सक्ने राष्ट्र बैंकभित्रैबाट होस् या बाहिरको। अर्थशास्त्रीलाई गभर्नरको जिम्मेवारी दिनुपर्छ।
योग्य व्यक्ति नेपालमै छन्। सरकारले अर्थतन्त्र बुझेको वित्तीय क्षेत्र बुझेको योग्य व्यक्तिलाई सरकारमा रहेका दलहरूले आग्रह–पूर्वाग्रह त्यागेर छनोट गरी नियुक्त गर्न सक्नुपर्छ। नियुक्ति दिनेले आग्रह–पूर्वाग्रह राख्यो भने गभर्नरले मुलुको हित हुने गरी राम्रो काम गर्न सक्दैन।
राष्ट्र बैंक गभर्नरले नियुक्ति दिने राजनीतिक दलको स्वार्थ वा तिनको हित हुने गरी काम गर्नुहुँदैन। गभर्नरले राष्ट्र बैंकको गरिमा र नेपालको वित्तीय क्षेत्रलाई ध्यानमा राखेर काम गर्नुपर्छ। सरकार समय÷समयमा परिवर्तन भइरहेको हुन्छ। तर, गभर्नरले तोकिएको कार्यकालभरि मुलुकको वित्तीय क्षेत्रको विकासका लागि काम गर्नुपर्छ। उसले जुनसुकै रानजीतिक दलको सरकार आए पनि नडगमगाई, कुनै पनि स्वार्थमा नरही समसापेक्ष सरकारको वित्त नीतिमा समन्वय हुने प्रकारको मौद्रिक नीति निर्माण गर्न सक्नुपर्छ।
मेरो पालामा पनि पाँचपटक सरकार परिवर्तन भएको थियो। भूकम्प, नाकाबन्दी मेरै पालामा भएको थियो। कोभिड सुरु हुँदा गभर्नरको कार्यावधि समाप्त भए पनि यस्तो परिस्थितिमा मुलुकको अर्थव्यवस्था सम्हाल्न के आवश्यक थियो, मैले गभर्नर हुँदा त्यहीँ गरेको थियो। यस्तै अप्ठेरो परिस्थितिमा मुलुकको अर्थव्यवस्था सम्हालेर आर्थिक वृद्धिमा सहयोग गर्ने मौद्रिक नीति बनाएर कार्यान्वयन गर्न सक्ने गभर्नर सरकारले नियुक्त गर्न सक्नुपर्छ।
दीपेन्द्र पुरुष ढकाल, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको गभर्नर हुन मौद्रिक अर्थशास्त्र विषयमा ज्ञान भएको व्यक्ति चाहिन्छ। वित्त नीतिमा पनि विचार पु¥याउन सक्ने व्यक्ति हुनुपर्छ। वित्त नीति र मौद्रिक नीति अनुकूल हुनुपर्छ। त्यस कारण देशको अर्थतन्त्र र अर्थशास्त्र जाने÷बुझेको राम्रो व्यक्ति, जसले अहिलेको वर्तमान आर्थिक अवस्था मूल्यांकन गरेर काम गर्न सक्ने हुनुपर्छ। अहिले आन्तरिक अर्थतन्त्र विकास हुन सकेको छैन। आन्तरिक अर्थतन्त्रलाई बढावा दिन सक्ने ज्ञान तथा क्षमता भएको व्यक्तिलाई सरकारले भावी गभर्नर बनाउनु राम्रो हुन्छ।
ऐनले राष्ट्र बैंकलाई पूर्ण अधिकार दिएर स्वायत्त निकाय बनाएको छ। राष्ट्र बैंकको संशोधित ऐनले संस्थालाई धेरै ‘प्रोटेक्सन’ (संरक्षण) गरेको छ। त्यसकारण राष्ट्र बैंकमा कुनै पनि राजनीतिक हस्तक्षेप हुँदैन र गर्न मिल्दैन। गभर्नरलाई सत्तामा भएका राजनीतिक दलले नियुक्त गरेको भन्दैमा सरकार परिवर्तन भएर अर्को आउँदा उसलाई काम गर्न बाधा÷अड्चन आउँदैन। सरकार जुनसुकै राजनीतिक पक्षको भए पनि अक्षम गभर्नर छनोट गरेको हुँदैन। अहिलेसम्म भएका गभर्नर हेर्दा सबै आफ्नो कार्यकालमा सफल भएकै देखिन्छन्। अब आउने गभर्नर पनि सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्ने प्रकारको दक्ष, सम्बन्धित क्षेत्रमा पोख्त व्यक्तिलाई नै सरकारले छनोट गर्छ भन्ने विश्वास छ।
विजयनाथ भट्टराई, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

अर्थतन्त्रलाई राम्रोसँग चिनेको र मौद्रिक अर्थतन्त्रमा राम्रो ज्ञान भएको व्यक्ति नै राष्ट्र बैंकको भावी गभर्नर हुनुपर्छ। गभर्नरको पद भनेको अर्थ मन्त्रालय र सरकारसँग समन्वय गर्ने हो। राष्ट्र बैंकको गभर्नरले वित्तीय क्षेत्र मात्रै चिनेर हुँदैन। उसले नेपाल सरकारले कसरी काम–कारबाही गर्छ भनेर पनि चिन्न सक्नुपर्छ। आर्थिक सल्लाहकार राष्ट्र बैंक भएको हुँदा गभर्नरले सरकारका वित्तीय कार्यक्रममा सहयोग हुने गरी नजिक भएर सहकार्य गर्नुपर्ने हुन्छ।
सरकारको वित्त नीतिलाई अनुकूल हुने गरी राष्ट्र बैंकको सन्तुलित मौद्रिक नीति जारी गर्नुपर्छ। तर, सरकारले धेरै उदार भएर वित्त नीति जारी गरेको अवस्थामा भने राष्ट्र बैंकले मौद्रिक जारी गर्दा नगद प्रवाह, मूल्यवृद्धि र आर्थिक वृद्धिलाई मूल्यांकन गरेर सन्तुलित मौद्रिक नीति जारी गर्नुपर्छ। सरकारले जे गर्यो, त्यसको परिपूरक हुनुपर्छ भन्ने छैन। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रलाई के गर्दा राम्रो हुन्छ त्यसको मूल्यांकन गरेर मौद्रिक नीति जारी गर्न सक्नुपर्छ। त्यसैले राष्ट्र बैंकको गभर्नर हुने व्यक्ति सरकारको वित्त नीति र मौद्रिक नीति बीचमा समन्वय कायम गरेर काम गर्न सक्ने क्षमताको हुनुपर्छ।
डा. तिलक रावल, पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक

गभर्नर नियुक्तिका लागि सिफारिस समित गठन हुन लागेको छ। यो समिति पनि राजनीतिक भागबन्डाको आधारमा सिफारिस हुने र गभर्नर चयन हुने सम्भावना छ। राष्ट्र बैंकको भावी गभर्नर आफ्नो स्वाभिमान कायम राख्ने, नेताहरूका घर–घर गएर ममाथि आशीर्वाद रहोस्, म जे पनि गर्न तयार छु भनेर तिनका आफन्तलाई चाकरी गर्ने गभर्नर भए भने उनीहरूले राम्रोसँग काम गर्न सक्दैनन्। यस्ता व्यक्ति गभर्नर हुँदा आफ्नो ‘अपरेसनल फ्रिडम’ अर्थात् काम गर्ने स्वतन्त्रता गुमाउँछन्। चाकडी गरेर राजनीतिक भागबन्डामा आएका गभर्नरले स्वतन्त्रपूर्वक काम गर्न सक्दैनन्।
म गभर्नर हुँदा चाकडी गर्नुपरेको थिएन। स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा आफंैले गभर्नर हुनुपर्यो भनेर प्रस्ताव गर्नुभएको थियो। तर, ६ महिनापछि सरकार परिवर्तन हुँदा मलाई हटाइएको थियो। कुनै गल्ती नगरेको हुँदा अदालतले न्याय दिएर पुनः राष्ट्र बैंक फर्किएको थिएँ। अदालतको न्यायले मलाई अझ स्वतन्त्र रुपले काम गर्न प्ररित गरेको थियो। त्यहीअनुसार संस्था र मुलुकको अर्थतन्त्रलाई राम्रो हुने काम गरें। त्यसैले अब राष्ट्र बैंकको १८औं गभर्नर ‘डा. तिलक रावल’ जस्तै स्वाभिमानी र ‘अपरेसनल फ्रिडम’ भएको व्यक्ति हुनुपर्छ।
डा. गोपाल भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकको गभर्नर हुन् या डेपुटी गभर्नर। राजनीतिक नियुक्ति हुन्। ऐन संशोधन गरेर डेपुटी गभर्नर संस्थाकै हुनुपर्ने भनिएको हुँदा भित्रैबाटै नियुक्त हुन्छन्। तर, गभर्नरको हकमा बाहिरबाट पनि ल्याउन सकिने व्यवस्था ऐनले गरेको छ। त्यसकारणले सरकारले गभर्नर नियुक्ति सिफारिस गर्दा वर्तमान अर्थतन्त्रको अवस्था बुझेर सुधारमा मौद्रिक नीतिमार्फत पहल गर्न सक्ने अनुभवी व्यक्तिलाई सिफारिस गर्नुपर्छ।
राष्ट्र बैंकको गभर्नरको भूमिका देशभित्रै मात्र रहँदैन। अन्तर्राष्ट्रिय एजेन्सीसँग पनि हुन्छ। सरकारको आर्थिक सल्लाहकार भएको हुँदा सरकारको आर्थिक नीतिमा प्रभावकारी हुने सल्लाह दिन सक्ने हुनुपर्छ। कसैको कुनै प्रभावमा नपरी निर्णय लिन सक्ने क्षमता गभर्नरमा हुनुपर्छ। राजनीतिक दल वा व्यवसायीका व्यक्ति गभर्नर भए निष्पक्ष निर्णय लिन सक्दैन। राष्ट्र बैंकको गभर्नर राज्यको व्यक्ति हुनुपर्छ। भावी गभर्नर अर्थशास्त्र जाने/बुझेको व्यक्ति हुँदा नै उसले कोर्ने मौद्रिक नीति निर्माण सरकारको वित्त नीति अनुकूल हुने गरी गर्न सक्छ।
उपेन्द्र पौडेल, अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल

अहिले हामी विशेष परिस्थितिमा छौं। राज्य र वित्तीय अवस्था चुनौतीपूर्ण मोडमा छ। यसकारण अब आउने गभर्नर एकदमै बलियो हुनुपर्छ। हामीले हिजोआज विभिन्न सञ्चार माध्यममा सुनेको आधारमा कुरा गर्न मिल्दैन। तर, जसले पनि यसको निर्णय गर्छन्, उनीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गर्नुपर्छ भन्ने लाग्छ। यदि, यो विषयलाई गम्भीर ढंगमा नलिएर वा स्वार्थको आधारमा नियुक्ति दिइन्छ भने त्यो नागरिक र राज्यविरुद्धको अपराध हो। मेरो मान्छे, तेरो मान्छे वा यो समूहको मान्छे भनेर छुट्याउनुहुँदैन।
निर्णय क्षमता भएको र भोलि ‘आउटबक्स’ सोचेर समस्याको समाधान खोज्ने मानिस अबको गभर्नरको रुपमा आउनुपर्छ। आजको हाम्रो वित्तीय स्थितिलाई हेर्दा पनि सही ढंगमा काम गर्ने मानिस गभर्नरको रुपमा आउन आवश्यक छ। अन्यथा, देशको आर्थिक पाटो हालको समस्याबाट बाहिर आउन सक्दैन।