काठमाडौं। नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन (एमआईटीटी) २०२५ मा सक्रिय सहभागिता जनाएको छ। जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यबारे जानकारी गराएका छन्।
रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौंठा पर्यटन अनुभवहरू प्रस्तुत गरेको छ। नेपाल पर्यटन बोर्डसँगै राधाकृष्ण होलिडेज, एड्भेन्चर प्लानर, कैलाश भ्यू टुर्स एण्ड ट्रेक्स, एक्स्प्लोर भेक्सेसन, फ्रेन्ड्स एड्भेन्चर टिम र हिमालयन ग्लेसियर ट्रेकिङ गरी छ निजी क्षेत्रका पर्यटन कम्पनीहरूले सहभागिता जनाएका छन्।
एमआईटीटीमा सहभागी नेपालका निजी क्षेत्रका प्रतिनिधिले रूसको पर्यटन बजारमा प्रवेश गर्न यो उत्कृष्ट प्लेटफर्म भएको बताएका छन्। निजी क्षेत्रका प्रतिनिधिहरुले रुससहित विभिन्न मुलुकका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया तथा छलफल गरेका छन्। उक्त छलफलबाट उनीहरुले सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन्।
नेपालको प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्रालयका सहसचिव तथा पर्यटन बोर्डका कार्यकारी समिति सदस्य यज्ञप्रसाद भट्टराईले गरेका थिए। उक्त प्रतिनिधिमण्डलमा पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि राजेन्द्र लामा पनि सहभागी रहेका थिए।
नेपाली प्रतिनिधिहरुले नेपाल पभेलियनमा आउने आगन्तुकहरूसँग अन्तरक्रिय गर्दै नेपाल-रूस पर्यटन सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे। कोभिड-१९ महामारीपछिको समयलाई ध्यानमा राख्दै एमआईटीटी-२०२५ मा बोर्डको सहभागिताले नेपाल-रूस पर्यटन सम्बन्धलाई पुनः सक्रिय बनाउने बोर्डले बताएको छ।
सन् २०२४ मा १३ हजारभन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गरेका थिए। रोमाञ्चक यात्रा र सांस्कृतिक अनुभवप्रतिको रुसी नागरिकहरूको रुचिका कारण नेपालका लागि यो बजारमा ठूलो सम्भावना रहेको पर्यटन बोर्डले जनाएको छ। सन् २०२५ मा रूसबाट १७ हजारभन्दा बढी रुसी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ।