काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा दोहोरिने घोषित-अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्मको अनियमित तथा अग्रीम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको जनाएको छ।
लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका महासंघको भनाइ रहेको छ। ‘नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस अवस्थामा महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गर्दछ।
यस्तै, उद्योगमा विद्युत कटौती हुने भएपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेशले पनि खण्डन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै औद्योगिक करिडोरमा आपुर्ति हुँदै आएको विद्युत कटौती गर्ने समाचारले कोशी प्रदेशका औद्योगिक करिडोरसँगै समग्र मुलुकका उद्योगीलाई त्रसित बनाएको परिसंघले उल्लेख गरेको छ।
विगत केही वर्षदेखि नेपाल विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिले आर्थिक औद्योगिक क्षेत्र धराशायी भएकाले सुधार गर्न आफूहरूले अनुरोध गरे पनि अहिले उर्जा मन्त्रालय र विद्धुत प्राधिकरणको टकराव र समन्वयको अभावले विद्युत आपुर्तिमा अवरोध हुने अवस्था सृजना भएको परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाले बताए।
‘अहिले उत्पादनको पिक हुने समय हो। वर्षायाममा उत्पादन कम हुने हुँदा उक्त समयभन्दा अहिले सुख्खायाममा विद्युत आपूर्ति लगातार आवश्यक पर्ने हुन्छ। लोडसेडिङ हुने चर्चाले निजी क्षेत्र भयभित हुनु स्वभाविकै हो,’ उनले भने, ‘विगत केही महिनादेखि प्राधिकरण र सरकारबीच चलिरहेको बहस र अस्तित्वको टकरावको क्षति निजी क्षेत्रले उठाउनुपर्ने अवस्था आएको छ।’
पछिल्लो केही दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले देशमा लोडसेडिङ नहटेको बताउँदै फेरि लोडसेडिङ हुने बताउँदै आएका छन्। यसैबीच सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको विवादले अवस्था थप जटिल बन्दै गएको छ।