काठमाडौं। कमर्सियल विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनिय वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष चार गुणा बढीले विद्युतीय कमर्सियल गाडीको आयात बढेको हो।
चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) सम्म एक हजार ३८५ युनिट विद्युतीय कमर्सियल गाडी नेपाल भित्रिएका छन्। आठ महिनाको अवधिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको विद्युतीय बस, मिनिबस र माइक्रोबस भित्रिएका हुन्। उक्त आयातबाट सरकारले ९३ करोड ५३ लाख बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १९ करोड बराबरको ३७० युनिट विद्युतीय बस, मिनिबस र माइक्रोबस भित्रिएका थिए। उक्त आयातबाट सरकारले २८ करोड ९२ लाख बराबरको राजस्व संकलन गरेको थियो।
आठ महिनाको अवधिमा ११ देखि १४ सिट क्षमताको माइक्रोबस ६९० युनिट, १५ देखि २५ सिट क्षमताको मिनिबस ६९१ युनिट र २६ सिटभन्दा माथि क्षमताको बस ४ युनिट आयात भएका छन्।
हाल बढ्दो अवस्थामा रहेको कमर्सियल गाडीको आयात आगामी दिनमा भने राष्ट्र बैंकको मौद्रिक नीतिले घट्ने सुन्दर आतायातका भेष बहादुर थापा बताउँछन्। ‘अहिले बढ्दो अवस्थामा रहेको कमर्सियल विद्युतीय गाडीको आयात अब आगामी दिनमा भने राष्ट्र बैंकको नीति र लोडसेडिङका कारणले बढ्ने देखिएको छ,’ थापाले क्यापिटल नेपालसाग भने, ‘अघिल्लो महिनाको तुलनामा यो महिना अलि घटेको छ। चीनमा एक महिना नयाँ वर्ष मनाउँछन्।
त्यस कारणले माघमा ब्लग भएर बसेको गाडी फागुनमा आएर धेरै आएको हो।’ अब आगामी महिना भने कमर्सियल गाडीको आयात घट्ने उनको भनाइ छ।
निजी विद्युतीय गाडीको आयात
गत आर्थिक वर्षको तुलनामा यस वर्ष चार पांग्रे विद्युतीय सवारी साधन संख्या बढी भित्रिएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष ६५४ युनिट बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका हुन्।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुसम्म)को अवधिमा ७ हजार ८९ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिना (साउनदेखि फागुन) सम्ममा १६ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो। उक्त आयातबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष १५ अर्ब ८१ करोड बराबरको ६ हजार ४३५ युनिट विद्युतीय गाडी भित्रिएका थिए। उक्त गाडी आयातबाट सरकारले ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
नेपालमा भित्रिएका चार पांग्रे विद्युतीय सवारी साधनमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट गाडीहरु छन्। ८ महिनाको समयावधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ३ हजार ८७९ युनिट गाडी आयात भएका हुन्। ५० किलोवाटसम्मको २ हजार ५४० युनिट भित्रिएका छन्।
यस्तै, १०१ देखि २०० किलोवाटसम्म ६५४ युनिट आयात भएका छन् भने २०१ देखि माथि १६ युनिट आयात भएका छन्। यस अवधिमा सबैभन्दा धेरै गाडी चीनबाट आयात भएका छन्। यस अवधिमा सबैभन्दा धेरै गाडी चीनबाट आयात भएका छन्।
डिजेल/पेट्रोल र प्लगइन हाइब्रिड गाडीको आयात
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ४ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ९५६ युनिट डिजेल पेट्रोल गाडी आयात भएका छन्। उक्त आयातबाट सरकारले १० अर्ब १० करोड बराबर राजस्व संकलन गरेको छ।
त्यस्तै, आठ महिनाको अवधिमा १८ करोड १० लाख ८४ हजार बराबरको ४१ युनिट प्लगइन हाइब्रिड नेपाल भित्रिएको छ। उक्त आयातबाट सरकारले ४३ करोड ६६ लाख ४७ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।