काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच भेटवार्ता भएको छ। बिमा प्राधिकणको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुरमा आज उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा बिमा सम्बन्धी द्विपक्षीय सहयोग, आपसी ज्ञान र अनुभव आदान–प्रदान गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ। यस्तै नेपाल र भुटानको बिमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बिमासम्बन्धि नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदढीकरणलगायतका विषयमा समेत छलफल भएको थियो।
सोही अवसरमा बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको उल्लेख गर्दै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए।
अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बिमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए।
भुटानको बिमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले बिमा प्राधिकरणले जोखिममा आधारित पूँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बिमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए।
उनले बिमा क्षेत्रको समग्र विकासका लागि बिमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी,निर्देशक पूजन ढुङ्गेल अधिकारीलगायत पदाधिकारीहरू र भूटानको रोयल मनिटरी अथोरिटीका उच्चपदस्थ पदाधिकारी सहभागी थिए।