काठमाडौं। पछिल्लो केही समययता अटो व्यवसायीको छाता संगठन ‘नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) फुटको बिन्दुमा पुगेको चर्चा भइरहेको छ। पाँच दशक लामो अटोमोबाइल्स व्यवसायीको साझा संस्थाको रूपमा विकास भएको नाडा फुटको सँघारमा पुगेको चर्चा भए पनि यसले औपचारिकता पाइसकेको भने छैन।
हुन, त नेपालमा व्यावसायिक संस्थाहरू विभाजित हुनु नौलो विषय भने होइन। अधिकांश संस्थाहरू आपसी मतभेदका कारण पटक–पटक विभाजन खेप्दै आएका छन्। हाल निजी क्षेत्रको सबैभन्दा ठूलो व्यावसायिक संगठन उद्योग वाणिज्य महासंघ नै विभाजनको सिकार भइसकेको संस्था हो।
उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) निजी क्षेत्रको प्रतिनिधित्व गर्दै २०२२ मा स्थापना भएको थियो। संस्थाका सबै जिल्लामा जिल्ला उद्योग वाणिज्य संघ स्थापना भइसकेका थिए।
महासंघ र मातहतका संघ–संस्थाले उद्योगीका समस्यालाई उठान गर्न निष्कर्षमा पुगेर महासंघ फुट्यो र २०५९ साल वैशाख ४ मा नेपाल उद्योग परिसंघ (सिएनआई) स्थापना भयो। अहिले पनि महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्वन्द्वको स्थिति देखिन्छ।
पेट्रोलियम कारोबार गर्ने व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन पनि २०८० मा विभाजित भएको थियो। यो संस्था विभाजित भई पेट्रोलियम व्यवसायी संघ नेपाल गठन भएको थियो।
व्यवसायीको फुटको शृंखलामा ऊर्जा उत्पादक संस्था पनि थपियो। सन् २००१ मा गठन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) २०८० मा विभाजन भई ऊर्जा व्यवसायीले छुट्टै ‘ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपाल’ नामक संस्था बनाएका छन्।
नेपाल शैक्षिक परामर्स संघ (इक्यान) परामर्श दातृ व्यवसायीको छाता संगठन पनि यसबाट चोखो रहन सकेन। २०५४ मा स्थापना गरिएको संघले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई परामर्श दिने गरेको छ। लामो समय आन्तरिक कलहमा रहेको इक्यान सन् २०१८ मा विभाजित भई असन्तुष्ट सदस्यले नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) गठन गरेका थिए।
नेपालमा विभाजित भएका यी संस्था केही उदाहरण मात्रै हुन्। निजी क्षेत्रका यस्ता थुप्रै संस्था फुटाएर नयाँ सस्था जन्माउनेको सूची लामै छ। यो सूचीमा नाडा पनि थपिने लयमा देखिएको छ। गत वर्ष नाडा अध्यक्षमा करण चौधरी र आकाश गोल्छाले उम्मेदवारी घोषणा गरे।
अध्यक्षका प्रतिस्पर्धी करण र गोल्छाबीच गोलाप्रथा गराइएको थियो। गोलाप्रथाबाट करण अध्यक्ष चयन भए। गोल्छालाई अर्काे पटक स्वतः अध्यक्ष बनाउने गरी वरिष्ठ उपाध्यक्ष पदमा राख्ने सहमति २०८० पुस ३ मा भयो।
उनीहरूलाई मिलाउन भन्दै निवर्तमान अध्यक्ष धु्रव थापा र पूर्वअध्यक्षहरूले वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरे। नाडाको ४७औं साधारणसभाले विशेष साधारणसभा बोलाएर संस्थाको विधान पनि त्यहीअनुरुप संशोधन गरी पास गरेको थियो।
विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको थियो। तर, जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको थियो।
गत वर्ष नेतृत्व कसले लिने भन्ने विषयमै नाडामा बेमेलको स्थिति देखिएको थियो। यसरी एकपछि अर्को संस्था फुटमा जाँदा त्यसको असर समग्र व्यवसायीमाथि पर्छ। संस्थाहरू फुटेर नयाँ संस्था गठन हुने क्रम पहिलादेखि नै चलेको नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन्।
‘एफएनसिसिआई टुक्रिएर सिएनआई गठन हुँदा महासंघलाई केही भएको छैन। चेम्बर, एफएनसिसिआई र सिएनआईले देशभरि नै संस्था बनाएका छन्। राजनीतिक पार्टीका पनि आ–आफ्ना व्यापारिक संस्था छन्। तिनलाई केही असर परेको छैन,’ पूर्वअध्यक्ष दुलालले भने, ‘नयाँ संस्था हुँदैमा पुरानालाई केही हुने होइन तर, एउटै माग हुँदा सरकारलाई दबाब हुने समस्या समाधानमा लाग्न सजिलो हुन्थ्यो।’
उनले एउटै खाले दुई/तीन संस्था हुँदा व्यवसायीका मागको सुनुवाइ कम हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्दा व्यवसाय घट्न सक्छ। यस्ता विषयले अप्ठेरो पर्ने दुलालको भनाइ छ। तथापि, यस विषयमा व्यवसायीले ध्यान दिन सकेको देखिँदैन। अझ नाडासमेत फुटेका संस्थाको सूचीमा थपिने बाटोमा छ।
नाडाको वास्तविक समस्या के?
५० वर्ष पुरानो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) विभाजित हुने चर्चाले अटो मोबाइल क्षेत्र यतिबेला चिन्तामा छ। नाडा पदाधिकारी भने यस विषयमा प्रतिक्रियाविहीन छन्। संस्थामा विवाद बढ्दै गएपछि गाडी आयातकर्ता व्यवसायीले नाडाजस्तै अर्काे नयाँ संस्था खडा गरेका हुन्।
व्यवसायीले नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नामक संस्था खडा गरेको चर्चा भइरहेको छ। गाडी आयातकर्ता व्यवसायीकै सहभागितामा नाइमा संस्था दर्ता गरिएको चर्चा चले पनि औपचारिक रुपमा घोषणा भने भएको छैन।
नाडा फुट्ने चर्चा यस वर्ष मात्रै चलेको होइन। अघिल्ला वर्षमा पनि टुक्रिने चर्चा हुने गर्दथे। खासगरी नाडाको नेतृत्व र उच्च पदस्थमा बस्ने होडबाजीले संस्था विभाजनको स्थिति सिर्जना हुँदै आएको छ।
हाल नाडामा समस्या आउनुमा वर्तमान नेतृत्व जिम्मेवार रहेको व्यसायीको आरोप छ। वर्तमान अध्यक्ष करण चौधरीले असन्तुष्ट व्यवसायीसँग समन्वय नगरेका कारण समस्या उब्जिएको धेरैको बुझाइ छ। वर्तमान नेतृत्वले असन्तुष्ट व्यवसायीसँग समन्वय नगर्दा संस्था विभाजन भएको र यसको जिम्मेवारी अध्यक्षले नै लिनुपर्ने उनीहरूको तर्क छ।
फुटको सँघारमा पटक–पटक पुगेको नाडा
नाडा अध्यक्ष चौधरीका अनुसार २०७४ मा शम्भुप्रसाद दाहालले नेतृत्व सम्हाल्ने बेलामै नाडा फुटको सँघारमा पुगेको थियो। त्यसपछिका दुई अध्यक्ष निर्वाचित गर्ने समय पनि यो विषय उठेको थियो।
‘शम्भुप्रसाद दाहाल अध्यक्ष हुँदा पनि यो कुरा निस्केको थियो’, अध्यक्ष चौधरीले भने, ‘त्यसबेलादेखि नाडा विभाजित हुने कुरा क्रमबद्ध रुपमा निस्कने गरेको छ।’ विगतमा पनि नाडामा यस्ता कुरा आउने र सेलाउने गरेको अध्यक्ष चौधरीको भनाइ छ।
विगतदेखि नै गाडी आयातकर्ता नाडामा सहज नभएका कारण उनीहरूले अर्काे संस्था खोल्न खोजिरहेको नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन्। ‘धेरै वर्ष अघिदेखि नै गाडी आयातकर्ताको नाडासँग मेल नहुँदा उनीहरूले अर्काे संस्था खोल्न खोजिरहेका थिए’, पूर्वअध्यक्ष दुलाले भने, ‘तर, हामीले नाडाभित्रै गाडी आयातकर्ताको एउटा समिति बनाउने भनेर उनीहरूलाई सम्झाएर अर्काे संस्था खोल्नुभन्दा यसलाई नै मिलाएर अघि बढ्न आग्रह गर्दै फुटबाट जोगाएर यहाँसम्म ल्याएका हौं।’
वर्तमान नेतृत्वले व्यवसायीको कुरा नसुनेपछि असन्तुष्ट पक्ष बिच्किँदा संस्था फुटको कुरा आएको हो। व्यावसायिक रुपमा हित नहँुदा व्यवसायी संस्थामा बस्दैनन्। अतः असन्तुष्ट पक्षलाई आफ्नो धारणा राख्न वर्तमान नेतृत्वले समय नदिने र बैठक बोलाएर पनि अनुपस्थित हुँदा उनीहरू रिसाएर नयाँ संस्था खोल्ने अवस्थामा पुगेको दुलालको भनाइ छ।
‘अहिले पनि हामीले पूर्वअध्यक्षहरूसँगै बसेर नाडालाई प्रभाव नपर्ने गरी सबैलाई एकसाथ मिलाएर लैजान सकिन्छ भन्ने प्रयास गरिरहेका छौं। वर्तमान अध्यक्षले चाहे त्यो सम्भव पनि छ,’ दुलालले भने, ‘बेलाबेलामा कुरा नमिल्दा यस्ता विषय निस्किँदै आए पनि सबैका एजेन्डा सामेल गरेपछि आफैं हराउँथे।’ नेतृत्व गरेपछि आफ्नो व्यवसायको मात्र नभई सबै व्यवसायका लागि काम गर्नुपर्ने उनको तर्क छ।