काठमाडौं। आजदेखि धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था कार्यान्वयन गरिँदै छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर बजार बुम हुँदा र घट्दा बजार खेलाडीले सेयर मूल्य बढाउन तथा घटाउन अन्तिम एक मिनेटमै चलखेल गर्दै आएको गाइँगुइँ सुनिने गरेको छ।
नियामक निकायको बेवास्ताले सेयरबजारमा ‘इन्साइडर’ कारोबारीले प्रश्रय पाइरहेको सर्वसाधारणको गुनासो सम्बोधन गर्न र चलखेल रोक्ने उद्देश्यले आजदेखि नयाँ व्यवस्था कार्यान्वयनमा लगिन लागेको हो। नेप्सेले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै आजदेखि नयाँ व्यवस्था लागू भएको हो।
आजदेखि कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिनेछ।
हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो। यसले गर्दा सेयर कारोबारीले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए।
अब २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिनेछ। २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिने नेप्से० प्रवक्ता मुराहरि पराजुलीले बताए।
‘हालसम्म अन्तिम कारोबार जुन भयो त्यसैलाई अन्तिम मूल्य मानिन्थ्यो। आजदेखि २ः४५ देखि ३ बजेसम्म जति पनि कारोबार हुन्छ, त्यो कारोबार भएको मूल्य र कति कित्ता कारोबार भयो, त्यसको औसत निकालेर अन्तिम मूल्य मानिनेछ’, प्रवक्ता पराजुलीले भने। यसले अन्तिममा मूल्य बढाउने चलखेल रोक्ने उनको दाबी छ।
नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएमा चैत ७ देखि परीक्षणमा ल्याइएको उनको भनाइ छ।
नेप्सेको चैत ५ को सञ्चालक समितिको बैठकले १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य कायम गर्ने निर्णय गरेको थियो। आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सेयरको क्लोजिङ प्राइस हुनेछ।