काठमाडौं। रातो इट्टाको विकल्पको रुपमा विगत ८ वर्षदेखि व्यवसायीक उत्पादन सरु गरेको एएसी ब्रिक उद्योगमा हालसम्म ५ अर्ब भन्दा बढी लगानी भइसकेको छ। रातो इट्टाभन्दा सस्तो र भूकम्प प्रतिरोधी रहेकाले पनि धेरैको आकर्षण पछिल्लो समय एएसी ब्रिक उद्योगमा परिरहेको एएसी ब्रिक उत्पादक संघका अध्यक्ष निकोलश पाण्डेले जानकारी दिए।
हाल मुलुकभर ९ वटा एएसी ब्रिक उद्योग सञ्चालनमा रहेको र ३ वटा उद्योग सञ्चालनको तयारीमा रहेको उनले बताए। हाल सञ्चालनमा रहेको ९ उद्योगमा प्रत्यक्ष रुपमा ५ हजारभन्दा बढीले रोजगारी पाइरहेको उनको भनाइ छ।
यो ब्रिक उत्पादन गर्न मुलुक भित्रकै ८० प्रतिशत कच्चा पदार्थ प्रयोग हुने र वातावरण अनुकुल हुने भएकोले पनि सबैका लागि लाभदायिक रहेको संघको ठहर छ।
‘प्रमुख स्वदेशी कच्चा पदार्थ सिमेन्ट र वालुवा प्रयोग गरी स्वदेशमा नै उत्पादन हुने रातो ईटाको विकल्पको रुपमा रहेको छ,’ अध्यक्ष पाण्डेले भने ‘कृषि उव्जाउ हुने माटोको प्रयोग नहुने वातावरणमैत्रि, हलुका र निर्माणमा खर्च समेत कम लाग्ने एएसी व्लक प्रयोग गरी गारो लगाउने कार्यको लागी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट २०८१ मंसिरमा एएसी व्लकको नर्मस स्वीकृत भइसकेको छ।’
मन्त्रिपरिषदले नर्मस स्वीकृत गरेपछि अव सरकारी भवन र सरकारी आयोजनामा समेत यो ब्रिक प्रयोग गर्ने वाटो खुलेको जनाएको छ। हाल स्वदेशमा एएसी व्लकको कुल जडित क्षमता २२०० घन मिटर प्रतिदिन रहेको जनाएको छ। वर्षमा ४५ करोड गोटा रातो ईटा वरावर हुन आउने साथै नेपालमा बिगत १० वर्षदेखि विभिन्न उद्योगहरुले फरक फरक ब्राण्ड नाममा एएसी ब्लक उत्पादन गरि बजारिकरण गरिरहेको उल्लेख छ। एएसी ब्लक जर्मन प्रविधिमा आधारित हलुका, अग्नि, ध्वनि र ओस प्रतिरोधक, वातावरणोपयोगी, विश्वसनिय नवीनतम निर्माण सामग्री रहेको जनाएको छ।

एएसी ब्लकबाट छोटो समयमै नेपालका महत्वपूर्ण आयोजना (सरकारी र निजि) पनि सम्पन्न भैसकेको र नेपाल नापतौल तथा गुणस्तर विभागले पनि एएसी ब्लकलाई निर्माण सामाग्रीको रुपमा अंगिकृत गरि आवश्यक सुचक नेपाल गुणस्तरसमेत निर्धारण गरिसकिएको र केही उद्योगहरुले गुणस्तर प्रमाणपत्र समेत पाईसकेको र बाँकी उद्योगसमेत गुणस्तर प्रमाण लिने प्रक्रियामा रहेको संघले जनाएको छ।
एएसी व्लकको महत्व बुझाउन पहिलो कन्फ्रेन्स हुँदै

विगत ८ वर्षदेखि उत्पादन हुँदै प्रयोगमा आएको एएसी व्लकको बारेमा सरोकारवाला निकायलाई जानकारी गराउने उद्धेश्यका साथ पहिलो पटक ‘प्रथम एएसी कन्फ्रेन्सः बिल्डिङ सस्टेनेवल फ्यूचर’ विषय आउदो शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको छ।
स्वदेशी उत्पादन एएसी व्लकको विषयमा जानकारी गराई यसको उपभोगमा व्यापक वृद्धि गर्ने तथा दिगो भविष्य निर्माण गर्ने हेतुले यस संघले स्वदेशी तथा विदेशी अनुभवी विशेषज्ञहरुवाट सम्पूर्ण सरोकारवालालाइ जानकारी गराउने उद्देश्य राखेको जनाएको छ।
यस्तो छ ब्रिकको विषेशता
एएसी व्रिक/ब्लकबाट हुने निर्माण लागतमा वजारमा पाईने सामान्य रातो इट्टा वा ब्लकको मूल्यको तुलनामा १०-१५ प्रतिशतसम्म कम लागत हुन्छ।

स्वदेशमा उत्पादित एएसी व्रिक-ब्लक नेपालमा खपत भई धेरै भएमा विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको छ।
वर्तमान अवस्थामा बजारमा पाइने रातो इट्टाको स्थानमा गाहे लगाउने सामग्रीहरुमा एएसी व्रिक-ब्लकको हिस्सा ६-८ प्रतिशत रहेको छ साथै यसको हिस्सा निरन्तर बढ्दो क्रममा रहेको छ।
एएसी कन्फ्रेन्समा स्वदेशी तथा विदेशी विशेषज्ञहरुवाट प्राविधीक तथा व्यवहारिक रुपमा जानकारी गराइने साथै उठेका जिज्ञासाको प्रश्नोत्तर कार्यक्रमबाट समाधान गरीनेछ।
व्यवसायिक भवनमा यसको प्रयोग अत्याधिक भइरहेको छ भने घरायसी प्रयोजनमा समेत विस्तारै विस्तारै यसको प्रयोगमा व्यापकता हुँदै गइरहेको छ।