काठमाडौं। ठूला घराना र व्यवसायीसँग उठबस रहेका ‘पावर ब्रोकर’ चार्ल्स मेन्डिजले नेपाल राष्ट्र बैंकको भावी गभर्नरको चासो राखेका छन्। मेन्डिज भावी गभर्नर कसलाई बनाउने भन्दै यही साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
चार्ल्स मेण्डिज विदेशी मूलका नेपाली नागरिक हुन्। उनकोे नेपालका ठूला घराना र व्यवसायीहरूसँग नजिकको सम्बन्ध रहेको छ। उनी ‘पावर ब्रोकर’को रूपमा परिचित छन्। नेपालका राजनीतिदेखि सार्वजनिक नियुक्तिमा ठूलो प्रभाव पर्ने सञ्जाल र शक्ति भएका मेण्डिजले यही साता प्रधानमन्त्रीको विषेश समय लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
राजनीतिक, व्यापारिक वा सामाजिक क्षेत्रमा विषेश परिचय भएका मेण्डिजलाई प्रधानमन्त्री ओलीले भेटको समय दिएपछि उनले राष्ट्र बैंकको गभर्नर आफू निकट व्यक्तिलाई बनाउनेबारे छलफल गरेका थिए।
मेण्डिज लामो समयदेखि युरोपियन मुलुकका क्रिश्चियन पादरीहरूको पैसा नेपालमा ल्याउने र विभिन्न क्षेत्रमा त्यसको प्रयोग गर्ने काममा सक्रिय छन्। साथै, नेपालका विभिन्न क्षेत्रका उद्योग व्यवसायमा विदेशी लगानीकर्ता भित्र्याउनमा पनि उनले ब्रोकरको भूमिका निर्वाह गर्छन्।
ललितपुरको जावलाखेलमा घर भए पनि नेपाल आउँदा सोल्टीलगायत नेपालको पाँच तारे होटलका ‘सुइट रुम’मा महिनौँसम्म बस्ने मेण्डिजको राजनीतिक दलसँग निरन्तर उठबस हुन्छ।
यस्ता सार्वजनिक नियुक्तमा आफ्नो अनुकुलका व्यक्ति लैजान लबिङ गर्ने मेण्डिजले गभर्नर आफू अनुकुलको आएमा आफू अनुकुलको विदेशी लगानी नेपाल भित्र्याउनमा राष्ट्र बैंकको तर्फबाट अनुकुलता खोज्न लागेका हुन्।
मेण्डिजले कुनै एक बैंकरलाई गभर्नर बनाउनेबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। प्रम र मेण्डिजको भेटघाटमा संलग्न रहेका एक व्यक्तिले त्यहाँको घटनाक्रमको बारेमा जानकारी दिएअनुसार बालुवाटारमा राजनीतिक दलका व्यक्ति व्यवसायी बसेको स्थानमा मेण्डिजले प्रमसँग ‘तपाईसँग मेरो अति गोप्य गफ गर्नु छ’ स्रोतले भने।
उनले ‘प्रमलाई जम्मा २ मिनेटको समय दिनुस्’ भनेर आग्रह गरे। प्रमले ‘यहाँ हुनुभएको सबै आफ्ना मान्छे हुन जे भन्नु छ, यही भन्दा फरक पर्दैन’ भनेपछि उनले कुनै एक बैंकरलाई गभर्नर बनाउन लाग्नु भएको हो? भनेर सोधेका थिए। प्रमले ‘हैन, अबको गभर्नर गठबन्धन सरकारसँग समन्यव गरेर नै बनाउनु पर्छ’ भनेको स्रोत बताउँछ।
मेण्डिजको नेपालका सबै राजनीतिक दलका नेताहरू, सार्वजनिक क्षेत्रका उच्च पदस्थ अधिकारी, ठूला व्यवसायी, लगानीकर्ताहरू र उद्योगपतिसँग समेत उनको राम्रो पहुँच छ। उनी विभिन्न ठूला तहका व्यक्तिहरूलाई जोड्ने र निर्णय प्रक्रियामा प्रभाव पार्ने काममा सक्रिय छन्। उनी आफै राजनीतिक तथा व्यवसायिक पदका लागि लबिङ नगर्ने तर पर्दा पछाडिबाट ठूलै प्रभाव पर्ने गर्छन्।
गभर्नर नियुक्तमा व्यवसायिक स्वार्थ
राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दल, व्यवसायिक घराना र विभिन्न स्वार्थ समूहबीच लबिङ तीव्र भएको देखिन्छ। गभर्नर चयन प्रक्रियामा सत्ता समीकरण, व्यवसायिक स्वार्थ र राजनीतिक शक्ति केन्द्रको प्रभाव बढ्दै गएको छ।
विगतका नियुक्तिहरूलाई हेर्ने हो भने सत्ता पक्षमा रहेका दलहरूले आफ्ना विश्वास पात्रहरूलाई गभर्नर बनाउँदै आएका छन्। तर, यस पटक राजनीतिक दलहरूबीचको असमझदारीका कारण नियुक्ति प्रक्रिया अझ पेचिलो बनेको छ।
राष्ट्र बैंक मुलुकको मौद्रिक नीतिको अभिभावक हो। यो संस्थाको नेतृत्व व्यवसायिक घरानाहरूका लागि महत्वपूर्ण मानिन्छ। किनभने राष्ट्र बैंकले लिने नीतिगत निर्णयहरूले वित्तीय बजार, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा प्रत्यक्ष असर पार्ने गर्दछ।
ठूलो व्यवसायिक घरानाले आफ्ना अनुकुल नीति बनाउन सक्ने नेतृत्व नियुक्त गर्न व्यापक लबिङ गर्ने गर्छन्। कतिपय व्यवसायिक समूहले गभर्नर चयन प्रक्रियामा प्रभाव पार्न ठूला राजनीतिक दलहरूका शीर्ष नेतासँग नजिकिने प्रयास गरिरहेका छन्।
यस्तो अवस्थाको पछिल्लो उदाहरण पावर ब्रोकर चार्ल्स मेण्डिज हुन्। जो ठूला व्यवसायिक घरानासँग नजिक रहेका छन्। उनले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरेर गभर्नर नियुक्तिबारे चासो देखाएको घटनाले व्यवसायिक घरानाहरूको भूमिका अझ प्रष्ट बनाएको छ।
भावी गभर्नरको लबिङ
२०७६ साल चैत २४ गते मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई ५ वर्षका लागि बनाउने निर्णय गरेको थियो। अधिकारीको कार्यकाल यही चैत २६ गते समाप्त हुँदै छ। उनको कार्यकाल समाप्त हुनअघि राष्ट्र बैंकको भावी गभर्नर चयन गर्नुपर्ने जिम्मेवारी सरकारलाई छ। सोहीअनुसार सत्ता पक्षमा रहेका दलहरूले तयारी गरेको छ।
अघिल्लो साता बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीको अध्यक्षतामा एक अर्थविद् र एक पूर्वगभर्नरसहितको गभर्नर सिफारिस कमिटी गठन गर्ने निर्णय गरिसकेको छ। यही सिफारिस समितिले सिफारिस गरेको नामबाट एक जनालाई मन्त्रिपरिषदले राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्छ।
सिफारिस समितिले राष्ट्र बैंकको दुई डेपुटी गभर्नरमध्ये एक जनाको नाम र बाँकी २ जनाबाहिरबाट राष्ट्र बैंक ऐनले गभर्नरका लागि तोकेको योग्यता पुगेको व्यक्तिको नाम सिफारिस गर्ने छ।
गभर्नरको आकांक्षीमा करिब राष्ट्र बैंकका दुई डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू, पूर्वकार्यकारी निर्देशकहरू, आर्थिक क्षेत्र सम्बद्ध अन्य व्यक्तिहरू र केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू रहेका छन्। उनीहरू रानजीतिक शक्ति केन्द्र र व्यवसायिक घरानामा गभर्नर पदको सुनिश्चितामा लबिङ गरिरहेका छन्।
व्यवसायिक स्वार्थ, राजनीतिक स्वार्थ होस् या व्यक्तिगत स्वार्थ बोकेका समूह पनि राष्ट्र बैंकको भावी गभर्नर आफू अनुकुल व्यक्ति नियुक्त होस् भन्ने चाहमा आवश्यक लबिङमा छन्। अघिल्ला गभर्नरहरू नियुक्ति हेर्ने हो भनेर सत्तामा रहेको राजनीतिक दलकै व्यक्ति गभर्नर भएको देखिन्छ। तर, यस पटक सत्तामा रहेको राजनीतिक दलको व्यक्तिले गभर्नर पाउने सम्भावना कम छ।
अहिलेको गठबन्धन सरकारले राष्ट्र बैंकको भावी गभर्नर नेकपा एमालेको तर्फबाट हुने हो वा नेपाली कांग्रेसले भाग पाउने भन्नेमा अन्यौल छ। यही अन्यौलता लिएर पावर ब्रोकर मानिएका चार्ल्स मेण्डिज प्रधानमन्त्रीको विषेश समय लिएर उनी यही साता भेट्न गएका थिए।