काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीले उत्पादन कटौती गर्न बाध्य हुने जनाएको छ।
जापानमा कार उत्पादन उद्योग लगभग १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको छ। जापानको टोयोटा विश्वको सबैभन्दा बढी बिक्री हुने कार निर्माता कम्पनी हो।
‘जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा)’का अध्यक्ष मासानोरी काटायामाले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी व्यापार संरक्षणवादको प्रभावबारे चेतावनी दिँदै भने, “अमेरिकाले लागु गर्ने भनिएको कर वृद्धि जापान, मेक्सिको र क्यानडाका निर्यातकर्तालाई लागू गरिएमा ट्रम्प प्रशासनले विचार गरिरहेको समग्र अमेरिका र जापानको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा हामी चिन्तित छौँ।”
ट्रक उत्पादक इसुजु मोटर्सका प्रमुख कार्यकारीसमेत रहेका कातायामाले भने, “यदि, यस्तो भयो भने उत्पादनमा उल्लेखनीय समायोजन हुन सक्छ।”
सन् २०२४ मा जापानको २१।३ ट्रिलियन येन (१४२ बिलियन अमेरिकी डलर)को अमेरिकी निर्यातको लगभग एक तिहाई हिस्सा सवारी साधनले ओगटेको छ। मन्त्रीहरूले आफ्ना अमेरिकी समकक्षीलाई स्टिल र सवारी साधन जस्ता जापानी सामानमा कर छुट सुनिश्चित गर्न लबिङ गर्दै आएका छन्। तर, अहिलेसम्म यी अनुरोध अस्वीकार गरिएको छ।
कातायामाले अन्तर्राष्ट्रिय आर्थिक ‘अनिश्चितता’ले लगानीसम्बन्धी निर्णयलाई थप कठिन बनाइरहेको पनि बताए। उनले जापानी ब्राण्डहरूले अमेरिकामा रोजगारी सिर्जना गरेको र अमेरिकाको कर्पोरेट सदस्यको रूपमा काम गरेको पनि बताए। जामाले जापानका १४ शीर्ष कार र मोटरसाइकल उत्पादकलाई समूह बनाएको छ।