काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा लोडसेडिङ गराउनकै लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना राती नचलाएको पाइएको छ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नचलाएर घिसिङले नियोजित रुपमै लोडसेडिङ गर्न चाहेको बुझिएको हो। रातीको समय भारतले इन्डियन इनर्जी एक्सचेन्जबाट बिजुली नदिने बताएसँगै घिसिङ पनि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना राती नचलाएका हुन्।
‘घिसिङ रातभर पानी स्टोरेज गर्ने र दिउँसो मात्रै माथिल्लो तामाकोसी चलाउन आयोजनालाई निर्देशन दिनुभएको छ,’ तामाकोसी आयोजना स्रोतले भन्यो, ‘अहिले हामीले रातभर पानी जम्मा गर्छौ र बिहान चलाउँछौं।’
ती अधिकारीका अनुसार यदि माथिल्लो तामाकोसी राती चलाउन पाएको भए औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैन थियो। किनभने, बिहान ६ देखि बेलुका ६ बजेसम्म भारतले इन्डियन इनर्जी एक्सचेन्जबाट चाहिएजति बिजुली दिन तयार छ। त्यो बिजुली ल्याएर दिउँसो दिन सकिन्छ।
‘रातीको समयमा तामाकोसी चलाउने हो भने देशमा लोडसेडिङ हुँदै हुँदैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘एमडीज्यूलाई हामीले बारम्बार यो कुरा सुझाएको हो, मान्नुहुन्न।’ एमडीले नमानेको देख्दा घिसिङ नियोजित रुपमा मुलुकभित्र लोडसेडिङ गराउन चाहनुहुन्छ।’
अहिले नेपालको उत्पादन १ हजार ६ सय मेगावाट छ। माग १ हजार ८ सय मेगावाट भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए। तामाकोसी नचलाएका कारण १ हजार १४४ मेगावाट उत्पादन भइरहेको छ। त्यसलाई राती चलाउनेबित्तिकै औद्योगिक ग्राहकले लोडसेडिङ खेप्नुपर्ने अवस्था आउँदैन। तर, तामाकोसी दिउँसो चलाइदिएर समस्या भएको हो।
दिउँसो भारतबाट ल्याउने र रातीको समयमा तामाकोसी आयोजना चलाइदिनेबित्तिकै अहिलेको समस्या समाधान हुने उनको तर्क छ।
‘भारतबाट महँगोमा बिजुली किनेर उद्योग बचाउन सकिँदैन। घरायसी ग्राहकलाई बिजुली अभाव हुन दिँदैनौं,’ घोषले भने, ‘कुलेखानी वा तामाकोसी चलाएर भए पनि घरयासीलाई दिन्छौ। उद्योगलाई दिनकै लागि तामाकोसी र कुलेखानी चलाउने भन्ने हुँदैन।