काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुई मुलुकबीच बहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारी सम्भावनाबारे छलफल गरेका छन्।
मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावनाबारे छलफल भएको हो ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो।
भेटमा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने, ‘कम्बोडिया र नेपालका इतिहास र धर्म एकअर्कासँग गहिरो सम्बन्ध राख्दछन्। हाम्रा मुलुक दशकौंसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन् र अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं।’
नेपालका प्रमुख धार्मिक स्थल जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको मन्त्री पाडेले उल्लेख गरे। उनले भने, ‘हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ।’
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गरेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।
नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुआत हुन सकेको अवस्थामा पर्यटक आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुव पक्ष सहमत एको छ । यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ।
मन्त्री पाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भने, ‘यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउने बताए। उनले नेपलमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई विशेष सहुलियतसहितको व्यबस्था पछि ती सञ्चालनमा आएको प्रशंग उल्लेख गरे ।
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।
कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ। पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको बताएको छ।
कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ।