काठमाडौं। सिद्धबाबा सुरुङमार्ग आयोजनाले हालसम्मको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको विवरण सार्वजनिक गरेको छ।
१ हजार ८९ मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। यसबाहेक तीन बाइपास सुरुङसमेत ब्रेक थ्रु भइसकेको आयोजनाले जनाएको छ।
अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माण भइरहेको आयोजनाले जारी गरेको प्रगति विवरणमा उल्लेख छ। यसबाहेक स्लोप प्रोटेक्सन कामको वित्तीय प्रगति ४३.८ प्रतिशत रहेको छ।
गत माघमा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको प्रगति ४० प्रतिशत थियो । माघ ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल ब्रेक थ्रु गरेका थिए।
टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नालीलगायत निर्माण धमाधम भइरहेका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो जाने गरेको छ। सोही कारण सर्वसाधारणले अकालमा ज्यान गुमाउने गरेका छन्।
७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङमार्ग निर्माण सम्पन्न हुनेछ।